काठमाडौं := स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीहरूसँग स्वास्थ्यका लागि सघाउन आग्रह गर्नुभएको छ ।अबुधाबीमा त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा उहाँले ठूलो संख्यामा नेपाली त्यहाँ कार्यरत रहेको भन्दै उनीहरूको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र युएई सरकारबाट समेत उनीहरूको स्वास्थ्य रक्षाका लागि सहयोगको अपेक्षा गरेको बताउनुभएको हो ।
उहाँले प्रस्थान गर्नुअघि तथा फर्केपछि सरकारले समेत श्रमिकको स्वास्थ्य रक्षाका लागि चालेको कदममा युएई सरकारबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो । मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत् अघि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँचअन्तर्गत स्वास्थ्य बीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मिर्गाैला डायलासिस केन्द्रहरूको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।
युएईका स्वास्थ्य विभाग अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर रहेको र दुर्ई देशबीच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले युएईमा रहेका नेपाली श्रमिकहरूको प्रशंसा गर्दै नेपालसँगको सम्बन्ध अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन युएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार भएको तर त्यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानुनी आधार तयार हुन आवश्यक रहेको समेत बताएको युएईस्थित नेपाली राजदूतावासले उल्लेख गरेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी हुनुहुन्थ्यो । मन्त्री पौडेल आइतबार आयोजना हुने नेपाल फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने दूतावासले जनाएको छ ।