सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसका भ्रातृ संगठनहरू भताभुंग र लथालिंगको अवस्थामा !

काठमाडौं:= मुलुकको सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसका भ्रातृ संगठनहरू भताभुंग र लथालिंगको अवस्थामा पुगेका छन् । हुन त कांग्रेस आफैँले लथालिंग पार्टीको पहिचान बनाएको छ । पछिल्ला वर्षहरूमा त झन् पार्टीको मेरुदण्डका रूपमा रहेका भ्रातृ संगठनहरू लत्तो छोडेर चलिरहेका छन् ।

भ्रातृ संस्थाहरूले पार्टीले दिएको पछिल्लो समयभित्र पनि अधिवेशन गर्न सकेनन् । नियमित अधिवेशन नभएका भ्रातृ संस्थाको अधिवेशन गराउन कांग्रेसले तदर्थ समिति गठन गरेको थियो । पटक-पटक तदर्थ समिति गठन गरे पनि अधिकांश भ्रातृ संस्थाहरूले अधिवेशन गर्न असफल भएका छन् । कांग्रेसले गएको चैत मसान्तभित्र अधिवेशन गर्न भ्रातृ संस्थाहरूलाई निर्देशन दिएर पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा निर्देशन समितिहरू नै बनाएको थियो ।

सभापति देउवाले तरुण दलको संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघको संयोजक सहमहामन्त्री किशोरसिंह राठौर, महिला संघको संयोजक प्रवक्ता डा.प्रकाशशरण महत, नेपाल दलित संघको संयोजक सहमहामन्त्री जीवन परियार, नेपाल किसान महासंघको संयोजक केन्द्रीय सदस्य रमेश रिजाल, नेपाल भूतपूर्व सैनिक संघ संयोजक केन्द्रीय सदस्य एनपी साउद, नेपाल लोकतान्त्रिक खेलकुद संघको संयोजक केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपांग संघको संयोजक केन्द्रीय सदस्य मधु आचार्य, नेपाल थारू संघ संयोजक केन्द्रीय सदस्य उदयशमशेर राणा र नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन संयोजक केन्द्रीय सदस्य प्राडा. गोविन्दराज पोखरेललाई तोक्नुभएको थियो ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल मगर संघ, नेपाल तामाङ संघलगायत भ्रातृ संस्थाले चैतभित्र अधिवेशन गर्न सकेनन् । नेविसंघ, तरुण दल लगायतले सदस्यता वितरण सुरु गरे पनि त्यसपछि महाधिवेशनको प्रक्रिया अघि बढेको छैन । कांग्रेसले नेविसंघसहित १३ भ्रातृ संस्थाको अधिवेशन चैतभित्रै सक्न भने पनि पाँचवटा भ्रातृ संस्थाले मात्रै अधिवेशन सम्पन्न गर्न गर्न सकेका छन्। भूपू सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, मुस्लिम संघ, लोकतान्त्रिक आदिवासी जनजाति संघ र अपांग संघले मात्रै अधिवेशन गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

अधिवेशन नगर्ने भ्रातृ संस्थाको तदर्थ समिति भंग गर्नुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ । विगतमा पनि अधिवेशन गर्न नसकेको भन्दै तदर्थ समिति भंग गर्ने अभ्यास नेपाली कांग्रेसमा छ । तोकिएको समयभित्र अधिवेशन गराउन नसकेका भ्रातृ संस्थाहरूलाई भंग गर्ने तयारी भइरहेको जानकारी दिँदै पार्टीका एक पदाधिकारीले भन्नुभयो, ‘समयमै महाधिवेशन गरून् भनेर निर्देशन समिति पनि बनाइयो तर महाधिवेशन गर्न सकेनन्, केही समय थप गरौँ न त भन्ने हो भने प्रक्रियासमेत सुरु गरेको अवस्था छैन ।

अब के गर्ने ? भन्ने विषयमा सभापतिसहित शीर्ष नेताहरूबीच एकखालको समझदारी बनाए केन्द्रीय समितिबाट निर्णय लिन्छाँै ।’ पहिले पनि केन्द्रीय कार्यसमितिले भ्रातृ संस्थामा तदर्थ समिति गठन गर्न सभापति शेरबहादुर देउवालाई अधिकार दिएको थियो । त्यसअनुसार सभापति देउवाले पार्टीभित्रका विभिन्न गुटलाई भाग दिनेगरी भ्रातृ संस्थाहरूको तदर्थ समिति गठन गर्नुभएको थियो । यसबीचमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव तयारी गर्नुपरेकोले अधिवेशन तयारी रोकिन पुगेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा चैत ५ देखि स्ववियु निर्वाचन भएको थियो । तर, त्यसअघि नेविसंघ सदस्यता वितरणका लागि क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाउने विषयमा पनि नेविसंघभित्र विवाद देखापरेको थियो । संस्थापन पक्ष र संस्थापनइतर पक्षले बेग्लाबेग्लै केन्द्रीय प्रतिनिधि खटाएका थिए । पार्टी पदाधिकारी बैठकले पनि नेविसंघलाई स्ववियुमा केन्द्रित रहन निर्देशन दिएको थियो ।

पार्टीले केही समय दिने हो भने अधिवेशन गर्न सकिने दाबी गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले भन्नुभयो, ‘हामीले नेविसंघको संशोधित विधान पार्टीलाई बुझाइसकेका छौँ, पार्टीबाट अनुमोदन भएर आइसकेको छैन । त्यो विधान हाम्रो हात पर्ने र दुई महिनाको समय दिने हो भने अधिवेशन गर्न सकिन्छ ।’ पार्टीले दिएको समयभित्र महाधिवेशन गर्न नसक्ने सात भ्रातृ संस्थाको तदर्थ समिति राख्ने कि भंग गर्ने भन्नेबारे छलफलपछि मात्रै निर्णय लिने भएको छ ।

अधिवेशन गर्न नसक्ने सात भ्रातृ संस्थाबारे अब बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने जानकारी दिँदै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो, ‘पार्टीले दिएको समयमा भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेका छैनन् । केही दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन्छौँ । भंग गर्नेबारे बैठकमा छलफल भएछ भने त्यो फरक कुरा भयो । अहिलेसम्म यसबारे कुनै कुराकानी छलफल भएको छैन।’

कांग्रेसको फागुन एक गते बसेको पदाधिकारी बैठकमा निर्देशन समितिका संयोजक र सदस्यहरूलाई बोलाएर सभापति देउवाले पटक-पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेको भन्दै चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिनुभएको थियो ।