काठमाडौं := आइसिसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको तेस्रो खेलमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२ ओभर तीन बलमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान नरेन भट्ट ३९ र शाहिल पटेलले ४२ रनको अविजित इनिङ खेल्नुभयो ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर दुई बलमा ११५ रनमा समेटिएको थियो । हङकङलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक चार विकेट लिनुभएको थियो । विपिन शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिनुभयो । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाउनुभएको थियो ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो । लगातार दोस्रो हार बेहोरेको हङकङ अंकविहीन छ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो । नेपालले शनिबार अन्तिम खेलमा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोली नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहनुभएको छ । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा टोलीमा हुनुहुन्छ । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो ।
त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो । सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठपटक युवा विश्वकप खेलिसकेको छ । नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन् । यो छनोटको विजेतामात्र सन् २०२६ मा जिम्बाबे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ ।




















