काठमाडौं := आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार दुई जित निकालेको नेपाल आज (बुधबार) हङकङसँग खेल्दैछ । यसअघि नेपालले सोमबार ओमानलाई नौ विकेटले हराएको थियो भने पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ-लुइस (डिएलएस मेथोड)का आधारमा पाँच रनले पराजित गरेको थियो ।
लगातार दुई जित निकालेको नेपालले चार अंक बनाएको छ । नेपालले तेस्रो खेल आज (बुधबार) हङकङसँग खेल्दैछ । छनोटमा नेपाल, युएई, अफगानिस्तान, हङकङ र ओमानको सहभागिता छ । नेपाली टोली नरेन्द्र भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहनुभएको छ ।
यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा टोलीमा हुनुहुन्छ । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो । त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो ।
सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठपटक युवा विश्वकप खेलिसकेको छ । नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन् । यो छनोटको विजेतामात्र सन् २०२६ मा जिम्बाबे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ ।




















