सन् २०३० मा हुने फिफा विश्वकपमा ६४ टोली खेलाउने प्रस्तावको आलोचना।

एजेन्सी:= उत्तर र मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासंघका अध्यक्ष भिक्टर मोन्टाग्लियानीले २०३० को फिफा विश्वकपमा ६४ टोली खेलाउने प्रस्तावको आलोचना गर्नुभएको छ ।

दक्षिण अमेरिकी फुटबल महासंघले अघि सारेको योजनाको युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिन र एसियाली फुटबल महासंघ (एएफसी) ले पनि विरोध गर्दा उत्तर अमेरिकी क्षेत्रको फुटबलको प्रशासनिक निकायले आलोचना गरेको हो ।

अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा उद्घाटन खेलहरू आयोजना भएपछि सन् २०३० को फिफा विश्वकपका खेल स्पेन, मोरक्को र पोर्चुगलमा हुनेछन् । यो विश्वकप पहिलोपटक तीन महादेश (दक्षिण अमेरिका, युरोप र अफ्रिका) तथा ६ देशमा हुन लागेको प्रतियोगिता हो ।

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुने २०२६ को फिफा विश्वकप मा ४८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि ३२ टोलीबीच हुँदै आएको विश्वकपमा पहिलोपटक ४८ टोली भिड्न लागेका हुन् । तर, दक्षिण अमेरिकी फुटबल महासंघले फिफा विश्वकपको सयौं वर्षगाँठ मनाउन थप सहभागीहरू थप्न चाहेको बताएको छ ।

४८ टोलीमा पनि थप टोली राखेर विश्वकप आयोजना गर्ने प्रस्तावको विषयमा उत्तर अमेरिकासहित एसिया र युरोपियन फुटबल महासंघले विरोध गरिरहेका छन् । फिफा कंग्रेसमा सर्वसम्मत मतदानपछि २०२६ को विश्वकपमा ४८ टोलीमा विस्तार गर्ने निर्णय गरिएको थियो ।

फिफाको ७५औँ कंग्रेस १५ मेमा पाराग्वेमा हुनेछ, जहाँ ६४ टोलीको प्रस्तावमा छलफल गर्न सकिन्छ । यदि प्रस्ताव स्वीकृत भएमा २०३० संस्करणमा १२८ खेलहरू हुनेछन् । जुन १९९८-२०२२ मा ६४ खेल खेलिएको संख्याको दोब्बर हुनेछ ।