‘के घर के डेरा : घर नं. २’को टिजरमा काठमाडौंमा भोग्नुपरेको प्रेम, वियोग र मानसिक यातना।

काठमाडौं := दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं. २’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेलगायत मुख्य कलाकारलाई प्राथमिकता दिइएको छ ।

टिजरमा काठमाडौंमा गाउँ-घरबाट आएर संघर्ष गर्ने आमनेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गरेको छ।आमनेपाली निम्नवर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ ।

पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा साटेको देखाएको टिजरले सामाजिक कथावस्तु सिनेमाले उठाउने प्रष्ट पारेको छ । पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ ।

‘के घर के डेरा : घर नं. २’ जेठ २ देखि सिनेमाघरमा आउँदै छ । चलचित्रमा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेख्नुभएको हो । उहाँको यो पहिलो चलचित्र लेखन हो ।

कृष्णबहादुर थापाको छायांकन रहेको यो चलचित्रको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुनुहुन्छ । कार्यकारी निर्माताका रूपमा युवराज कार्की हुनुहुन्छ ।