रवि दाइलाई आजैबाट राजनीतिबाट बिदा गरौँ, रास्वपा निर्माणमा लागौं: रास्वपा पूर्वमहामन्त्री ढकाल।

काठमाडौं := रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई पार्टीबाट बिदा गरेर राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लाग्न प्रस्ताव गर्नुभएको छ । उच्च अदालत तुलसीपुरलेले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेलगत्तै पूर्वमहामन्त्री ढकालले यस्तो प्रस्ताव गर्नुभएको हो ।

ढकालले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव ( रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ , यो प्रस्तावमा नआइ सुख छैन । रवि दाइलाई राजनीतिबाट बिदा गरी, राष्ट्रीय स्वतन्त्र पार्टी निर्माणमा लागौँ ।’

‘यसले दाइलाई पनि सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ’, उहाँले भन्नुभएको छ, ‘असारमा भनेको कुरा चैत्र लाग्दासम्म पनि बुझ्न सकेनौँ भने, राजनीति के गर्छौ रु छोडिदिए हुन्छ । अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो । रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो । अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मुल्यमान्यताको राजनीतीलाई न्याय मिल्छ ।’

उनले धरौटीमा  छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेकाले अहिले अदालतलाई गाली गर्नुको कुनै तुक नरहेको जिकिर गरेका छन् । ‘धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेका थिए । मैले त भनेकै थिए, धेरै खुसी नहुनु । तर खुसी भएपछि, कसको के लाग्छ र , बधाई दिए । अब अदालतलाई गाली गर्नुको के तुक रहन्छ र ! हिजो जसरी अदालतको फैसलाको स्वागत गरिएको थियो, त्यसरी स्वागत गर्ने ।’

अन्त्यमा उहाँले लेख्नुभएकाे छ, ‘रवि दाइले मलाई बोलेको अन्तिम वाक्य थियो, ‘देख्यौ, शुन्यमा पुर्याए तिमीलाई ।’  हुन त मैले समीक्षा प्रतिवेदनमा नै शुन्यबाट यात्रा शुरू गर्दै छु भनेर लेखेको थिएँ । दाइलाई सुनाइदिनु होला , ‘दाइ, म शुन्य थिएँ, शुन्य छु र शुन्य नै रहुँला, तर अब तपाईं कति ?’