राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फ़ेरि पक्राउ।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई फेरि पक्राउ गरिएको छ । उहाँलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठस्थित हेपाली हाइटबाट शुक्रबार राति पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । प्रहरी टोली उहाँलाई पक्राउ गर्न हात्तीगौडास्थित निवासनै पुगेको थियो ।

यसअघि लामिछानेले फेसबुकमार्फत आफूले गिरफ्तारी दिने बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु ।’ यद्यपि उहाँले आफूमाथि ठूलो अन्याय भएको बताउनुभएको छ ।

यसअघि एक करोड धरौटीमा छोड्ने जिल्ला अदालत रूपन्देहीले दिएको आदेशलाई बदर गर्दै उच्च अदालतले रविलाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उहाँले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिनुभएको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा छाडेको थियो ।

लामिछाने सहकारी ठगीमा मुछिएको करिब पाँच महिनापछि चैत १८ देखिमात्रै पार्टीको सक्रिय राजनीतिमा फिर्ता हुनुभएको थियो । उहाँ चैत १८ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी हुनुभएको थियो । सो बैठकले पार्टीको महाधिवेशन वैशाखमै गर्नेदेखि संगठन निर्माण लगायतको विभिन्न निर्णय गरेको थियो । तर, पाँच दिनमै रवि थुनामा जानुपर्ने अवस्था आयो ।

यो आदेशसँगै पूर्व डीआईजी छविलाल जोशी पनि रिहा नहुने भएका छन्। यसअघि रवि र छविले कास्की, काठमाडौँ र चितवनमा धरौटी बुझाएर रिहा भएका थिए। तर त्यसपछि रुपन्देही पुग्दा जोशीलाई भने थुनामा पठाउने आदेश भएको थियो।

यी चारवटै अदालतबाट धरौटीमा रिहा भएका लामिछाने केहीदिन अघि मात्रै पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए। उनले सांसदबाट समेत निलम्बन फिर्ता लिन सभामुखलाई निवेदन दिएका थिए। रास्वपा नेताहरूले तााकेता गरेपनि सभामुखले भने निलम्बन फुकुवा गर्न नसकिने जवाफ दिएका थिए।

त्यसको केही दिनमै उनलाई थुनामै पठाउने आदेश भएको हो। यसअघि कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा अनुसन्धान गर्न पक्राउ गर्दा पनि काठमाडौँस्थित पार्टी कार्यालयबाटै पक्राउ गरिएको थियो। त्यतिबेला उनले जहाजबाट जान नमानेपछि गाडीबाटै पोखरा लगिएको थियो।