चलचित्र ‘के घर के डेरा : घर नं. २’को एकसाथ तीन नयाँ पोस्टर सार्वजनिक।

काठमाडौं := दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं. २’को एकसाथ तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गर्दै चलचित्रको सिनेमाघरमा आउने मितिसमेत परिवर्तन गरिएको छ । यसअघि जेठ ९ गते रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पहिले अर्थात् जेठ २ मा रिलिज हुने भएको छ ।

बिहीबार सार्वजनिक गरिएका तीन पोस्टरमध्ये एकमा निश्चल बस्नेतलाई सोलो रूपमा प्रस्तुत गरिएको छ, जहाँ निश्चललाई कतै पुग्न हतार भएझैं गरी कुदिरहेको अवस्थामा देख्न सकिन्छ । यस पोस्टरमा उहाँको अनुहारले तनावपूर्ण अवस्था रहेको देखाउँछ ।

दोस्रो पोस्टरमा अर्का अभिनेता खगेन्द्र लामिछाने तथा अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । पोस्टरमा झोला भिर्नुभएकी तथा हातमा केही सामान बोकेर हिँडिरहनुभएकी उपासनालाई अभिनेता खगेन्द्रले साइकल डोराउँदै, मुस्कुराउँदै पछ्याइरहेको देख्न सकिन्छ ।

तेस्रो पोस्टरमा चलचित्रका अधिकांश मुख्य पात्रहरूलाई प्रस्तुत गरिएको छ । सार्वजनिक तीनमध्येको सबैभन्दा शक्तिशाली यो पोस्टरले चलचित्रको नामअनुसारको बिम्बमा आफूलाई प्रस्तुत गरेको छ । यस पोस्टरमा पात्रहरूलाई तीनतले घरको तलाका विभिन्न कोठाको झ्यालमा भएझैं गरी डेरा जिन्दगीमा उनीहरूको मनोदशामा प्रस्तुत गरेको छ । जहाँ एकातर्फका कलाकार कोही गम्भीर भाव त कोही चिन्तित मुद्रामा छन् भने अर्कोतर्फको भागमा खुसी मुद्रामा चलचित्रका पात्रहरूलाई देख्न सकिन्छ ।

यस पोस्टरमा अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने तथा अभिनेत्री केकी अधिकारीलाई गम्भीर, चिन्ताग्रस्त र गम्भीर भावमा देख्न सकिन्छ भने अर्कोतर्फ निश्चललाई खुसी अवस्थामा, अभिनेता प्रकाश घिमिरेलाई उपासनासँग खुसी मुडमा र सिर्जना नापितलाई खुसी भइरहेको देख्न सकिन्छ ।

यो चलचित्रलाई ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरले लेख्नुभएको हो । कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको हो ।

नकिमउद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जन निर्माता रहेको चलचित्रमा युवराज कार्की कार्यकारी निर्माताका रूपमा रहनुभएको छ । चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारको मुख्य भूमिका छ ।