काठमाडौं:= सन् २०२५ का लागि राष्ट्रिय पुरुष तथा महिला क्रिकेट टोलीका खेलाडीको ग्रेड विभाजन गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट टोलीका खेलाडीको ग्रेड विभाजन गरी पारिश्रमिकसमेत तय गरेको हो ।
पुरुषका ३३ खेलाडीले मासिक पारिश्रमिक पाउने भएका छन् । त्यसमा २५ हजारदेखि एक लाख रुपैयाँसम्म तलब तोकिएको छ । महिलातर्फ १९ खेलाडीले मासिक पारिश्रमिक पाउने भएका छन् । उनीहरूले २० हजारदेखि ५० हजारसम्म पाउनेछन् ।
पुरुषतर्फ पाँच र महिलातर्फ चार ग्रेड छुट्याइएको छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा रहेर एक लाख तलब पाउनेमा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख हुनुहुन्छ । ग्रेड ‘बी’ मा रहेर मासिक ७० हजार पाउनेमा कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी र अनिल साह हुनुहुन्छ ।
त्यस्तै, ग्रेड ‘सी’ मा हुनेले मासिक ५५ हजार तलब पाउनेछन् । ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल हुनुहुन्छ । पुरुषको ग्रेड ‘डी’ मा मासिक ३५ हजार तलब पाउनेमा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरा र मयन यादव रहनुभएको छ ।
सात प्रदेशका एक-एक खेलाडीलाई इमर्जिङ खेलाडी घोषित गरी मासिक २५ हजार प्रदान गर्ने क्यानले जनाएको छ । इमर्जिङ श्रेणीमा दीपेश कँडेल (कोशी), रूपेशकुमार सिंह (मधेस), शुभ कंसाकार (बागमती), अर्जुन कुमाल (गण्डकी), सन्तोष यादव (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) रहनुभएको छ ।
महिलातर्फ ‘ए’ ग्रेडमा कप्तान इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर रहनुभएको छ । उहाँहरूले मासिक ५० हजार पाउनुहुनेछ । ग्रेड ‘बी’ मा कविता जोशीमात्र हुनुहुन्छ । उहाँले ३५ हजार पाउनुहुनेछ । २५ हजार पाउने ग्रेड ‘सी’ का खेलाडीमा कविता कुँवर र सम्झना खड्का हुनुहुन्छ । ग्रेड ‘डी’ मा १२ खेलाडी छन् ।
उनीहरूको तलब मासिक २० हजार हुनेछ । त्यसमा विन्दु रावल, अलिशाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, सना प्रविन, रिया शर्मा, सिमाना केसी, कृष्मा गुरुङ, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, ज्योत्सनिका मरासिनी र रचनाकुमारी चौधरी हुनुहुन्छ ।
सेन्ट्रल कन्ट्र्याक्टमा रहने खेलाडीको सम्झौता अवधि ६ महिना (जनवरीदेखि जुनसम्म) रहनेछ । ६ महिनाको खेलाडीको प्रदर्शनका आधारमा बाँकी ६ महिनाका लागि पुनः खेलाडीको वर्गीकरण गरिने क्यानले जनाएको छ ।




















