शुक्रबार := आज (शुक्रबार)देखि सिनेमाघरमा चलचित्र ‘राजागञ्ज’ प्रदर्शनमा आएको छ । सिनेमाघरमा गत शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ र बिहीबारदेखि आएका दुई चलचित्र ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’ले पनि राम्रै व्यपार गरिरहेको बेला आज (शुक्रबार)देखि ‘राजागञ्ज’ प्रदर्शनमा आएको हो ।
राजागञ्जको बुधबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर शो गरिएको थियो जहाँ यसलाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । प्रिमियर शो हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के र अभिनेता नाजिर हुसेन लगायतको उपस्थिति थियो ।
प्रिमियर शोमा उपस्थित पाहुनाहरूले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । यो सिनेमाले मधेस आनदोलनको क्रममा उत्पन्न मधेसी र पहाडी समुदायबीच घटित विभिन्न घटना क्रमलाई सुक्ष्म ढंगले देखाइएको प्रतिक्रिया मिलेको थियो । निर्देशक दीपक रौनियारले सिनेमा सेन्सर झमेलाले केही दुःख लागे पनि अहिले प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी मिलेको बताउनुभएको थियो ।
चलचित्रमा आशा मगराती, दयाहाङ राईसहित विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
यो चलचित्रले भेनिस, हृयाम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठूला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो चलचित्र गत कात्तिक एकै महिनामा पाँच फेस्टिभलमा स्क्रिनिङ भएको थियो । चलचित्रले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रूपमै रौनियारको प्रशंसा गर्नुभएको थियो ।
चलचित्रको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गर्नुभएको छ । चलचित्रको कार्यकारी निर्मातामा भारतीय निर्देशक अनुराग कश्यप हुनुहुन्छ ।




















