काठमाडौं := रङहरूको पर्व फागु अर्थात् होली हिमाल र पहाडमा हर्षोल्लासपूर्वक मनाइएको छ । बिहीबार काठमाडौंसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा आपसमा रङ र अबिर दलेर होली मनाइएको हो । तराईं भने आज (शुक्रबार) होली मनाइँदै छ ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ ।
यस वर्षको होली सौहार्दपूर्ण वातावरणमा मनाइएको छ । ऐतिहासिक हनुमानढोका क्षेत्रस्थित वसन्तपुर क्षेत्र र ललितपुरको पाटन दरवार स्क्यावरमा होली खेल्न युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको उत्साहजनक सहभागिता थियो ।
उनीहरूले एक-अर्कालाई विभिन्न रङ र अबिर लगाएर आत्मीयता साटासाट गर्दै होली मनाएका थिए । वसन्तपुरमा होलीमा रमाउन आउने विदेशीहरूको सहभागिता पनि उल्लेख्य थियो । विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक पनि रङैरङको पर्व होलीको उमंगमा रमेका थिए ।
काठमाडौंको वसन्तपुर, ठमेल लगायतका स्थानमा त्यसैगरी पोखराको लेकसाइडमा नेपाली मात्रै नभई विदेशी पर्यटकहरू पनि एक आपसमा रङ, अबिर लगाएर नाचगान गरेर होली मनाएका थिए । भक्तपुरका मुख्य पर्यटकीय स्थलहरू दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर लगायतमा पनि नेपालीलगायत विदेशी पर्यटकहरूले रङ दलेर होली मनाएका थिए ।
स्थानीय बाजागाजाका तालमा समूह समूहमा युवायुवतीहरू भेला भएर यो पर्व उल्लासका साथ मनाएका थिए । पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीलेसमेत मनाउने गरेका छन् । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, वसन्तपुर, दरबारमार्ग, पाटन, बौद्धलगायत क्षेत्रमा पर्यटकहरू नेपालीसँगै रमा रंगिएका थिए ।
बिहीबार साँझपख काठमाडौंलगायत आसपासमा परेको पानीले होलीको उत्सवलाई केही अवरोध भने गरेको थियो । वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइएको थियो । चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रहृलादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।




















