सेपाङ (मलेसिया):= मलेसियन अध्यागमन विभाग इमिग्रेशन (JIM) ले यहीँ १० मार्च २०२५ को दिन केयलआईए (KLIA1) टर्मिनल १ अराइभल हलमा अवैध सिम कार्ड बेच्ने र ठगी धन्दा गर्ने विदेशी हरुलाई पक्राउ गरेको छ ।
एक बिशेष सूचनाको आधारमा अध्यागमनद्वारा मार्च १० तारिख सोमबार दिउँसो ०१ः३० बजेबाट विमानस्थल परिसरमा सुरु गरिएको विशेष अपरेसनमा अध्यागमन मुख्यालय पुत्राजायाको गुप्तचर तथा विशेष अपरेशन महाशाखाका अधिकारीहरुले जालसाजी र ठगी धन्दा गर्ने २२ देखि ५० बर्ष उमेरसमुहका बंगलादेशको नागरिकहरु लाई पक्राउ गरिएको अध्यागमनद्वारा जारी सूचनामा उल्लेख छ ।
पक्राउ परेका बंगलादेशीहरुले विमानस्थल परिसरभित्र अराइभल हलमा आउने विदेशी आगन्तुक हरुलाई जबर्जस्ति हात समाती अवैध सिमकार्ड महँगो मुल्यमा किन्न लगाउने गरेको पाइएको र यो अध्यागमन कानुन विपरीत कार्य गरिरहेकोले पक्राउ गरिएको अध्यागमनले जनाएको छ ।
पक्राउ परेका बंगालीहरुको साथबाट ४ वटा पासपोर्ट , १० वटा मोबाईल फोन , १२१ वटा टेल्को कम्पनीको सिमकार्ड , सिमकार्ड खोल्ने उपकरण र आरएम १ हजार ५५५ रिंगेट नगद बरामद गरिएको अध्यागमनले जनाएको छ ।
पक्राउ परेका बंगालादेशीहरुले एउटा् सिमकार्ड आरएम २५ रिंगेट मुल्यमा बिक्रीवितरण गर्ने गरेको र एकदिनमा १५०० देखि २००० सम्मको सिमकार्ड बेची नाफा कमाउने गरेको अध्यागमनको सूचनामा उल्लेख छ । पक्राउ परेकाहरुलाई आवश्यक थप कारवाहीको लागि अध्यागमन मुख्यालयमा पठाइएको छ ।