काठमाडौं := गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) ले मंगलबार ‘बृहत् एकता संवाद’ आयोजना गरेको छ । कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक महासचिव भीम उदास, संस्थापक पूर्वसंरक्षक रामप्रताप थापा, पूर्वउपाध्यक्षहरू इन्द्रा वन, सागर नेपाल, टिबी कार्की, वर्तमान तथा पूर्वअन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू एवं सल्लाहकार, राष्ट्रिय समन्वय परिषद्का अध्यक्षलगायत सात सय ८६ जनाको उपस्थिति रहेको थियो ।
एनआरएनए महाधिवेशनको वैधानिकता र सम्बन्धित विवादबारेमा सर्वोच्च अदालतको निर्णय पालना गर्दै एनआरएनएको आगामी अक्टोबरका लागि घोषणा गरिएको महाधिवेशन सफल बनाउनेप्रति संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित अधिकांश एकमत भएका बताइएको छ । १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन अक्टोबर २०२५ मै आयोजना गर्ने निर्णयसहित कार्यक्रमले गैरआवासीय नेपाली समुदायबीचको एकतालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरिएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फागुन २३ मा भएको छलफलमा एनआरएनएको वैधानिकतासम्बन्धी जानकारी प्रदान गर्दै वर्तमान कार्यसमिति वैधानिक रहेको उल्लेख गर्नुभएकोमा धन्यवाद दिँदै एनआरएनएभित्र बृहत् एकता कायम गर्न आहृवान गर्ने निर्णय गरेको छ । साथै संवाद कार्यक्रमले एकतालगायत विभिन्न सातबुँदे निर्णयसमेत गरेको छ ।
एनआरएनएको बृहत् एकता कायम गर्न हदैसम्म लचकता अपनाउन वर्तमान कार्यसमिति तयार रहेको संघका अध्यक्ष डा. बद्री केसीले बताउनुभएको छ । संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट गत वर्ष चैत २१ गते भएको फैसला र ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिको गतिविधि र महाधिवेशनको वैधानिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट साउन २२ मा भएको फैसलाको अन्तर्य र अन्तरवस्तुलाई एकरूपता कायम गरी एनआरएनएको बृहत् एकता कायम गर्ने भएको छ ।
त्यस्तै, सन् २०२३-२०२५ कार्यकालका लागि निर्वाचित कार्यसमितिको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र पदाधिकारीको बैठकबाट सन् २०२५ जनवरी १९ मा सम्पन्न बैठकबाट आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन गैरआवासीय नेपाली दिवस अक्टोवर ११ देखि सुरु हुने गरी गर्न आहृवान गरिएको, आगामी असोज सबै पक्ष समेटेर एकताको महाधिवेशन वातावरण बनाउन वर्तमान कार्यसमितिलाई अनुरोध गर्ने, एनआरएनएका ५० भन्दा बढी राष्ट्रिय समन्वय परिषद्हरूले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई संघको महाधिवेशन अक्टोबरमा गर्न प्रेषित भएको मागपत्रलाई स्वागत गर्दै संघभित्र बृहत् एकताका लागि आहृवान गर्नेलगायतका निर्णय गरेको एनआरएनएले जनाएको छ । कार्यक्रमपछि प्राप्त उल्लेखित निर्णय प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री राणा, महान्यायाधिवक्ताको कार्यालयलगायत सम्बन्धित सरकारी निकायमा बुझाइने एनआरएनएले जनाएको छ ।