कप्तान रोहित शर्माले अझै दुई वर्ष क्रिकेटबाट सन्यास नलिने, विश्वकप क्रिकेट खेल्न सक्ने संकेत।

नयाँदिल्ली:= भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले दुई वर्षपछि हुने विश्वकप क्रिकेट खेल्न सक्ने संकेत गर्नुभएको छ । उहाँले आफ्नो भविष्यको खेल करियर र आगामी आइसिसी पुरुष क्रिकेट विश्वकप २०२७ बारे प्रतिक्रिया दिनुभएको हो । उहाँले आफ्नो भविष्यको खेल करियरका लागि सबै बाटो खुला राखेको बताउनुभयो ।

सन् २०२७ मा हुने अर्को पुरुष क्रिकेट विश्वकपमा सहभागी हुने संकेत गर्नुभयो । ‘अहिले नै भन्न गाह्रो हुनेछ। म कति राम्रो खेल्न सक्छु भनेर हेर्न चाहन्छु । अहिले म राम्रो खेलिरहेको छु र म यो टोलीसँग जे गरिरहेको छु त्यसको मजा लिइरहेको छु र टोलीले पनि मेरो उपस्थितिको आनन्द उठाइरहेको छ, जुन राम्रो कुरा हो । म २०२७ का बारेमा केही भन्न सक्दिन किनकि यो धेरै टाढा छ तर मैले मेरा सबै ढोका खुला राखेको छु ।’

यसअघि रोहितले च्याम्पियन्स ट्रफी जितेपछि ओडिआईबाट सन्न्यास लिने अनुमानलाई अस्वीकार गर्नुभएको थियो । ‘म यो फम्र्याटबाट सन्न्यास लिने छैन। म यो स्पष्ट गर्न चाहन्छु कि थप अफवाहहरू नफैलियोस्,’ उहाँले भन्नुभएको थियो । यसअघि शर्माका बाल्यकालका प्रशिक्षक दिनेश लाडकोले आगामी दुई वर्ष रोहितले सन्न्यास नलिने बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘रोहित शर्माले आगामी दुई वर्षमा सन्न्यास लिने छैनन् । उनी पूर्ण रूपमा फिट छन् ।’ ३७ वर्षीय शर्माको कप्तानीमा आइतबार भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । रोहितले फाइनल खेलमा ७६ रनको महत्वपूर्ण इनिङ खेल्नुभएको थियो । एजेन्जी