काठमाडौं := चलचित्र ‘महाभोज’ गणतन्त्र दिवसको दिनदेखि सिनेमाघरमा आउने भएको छ । मंगलबार फष्र्टलुक पोष्टर सार्वजनिक गर्दै आगामी जेठ १५ गते बिहीबारलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । रोयल भीमसेनले डिजाइन गरेको पोष्टरमा चलचित्रका प्रमुख कलाकारहरू गम्भिर भावमा चित्रित छन् ।
पोष्टरको केन्द्रमा आर्यन सिग्देललाई देख्न सकिन्छ । सिरुपाते जुँगा र लामो दाह्रीमा देखिनुभएका उहाँले शिरमा कालो टोपी र कोटमा नेपाली झण्डा अंकित लोगो झुण्ड्याउनुभएको छ । यसले उहाँ नेताको भूमिकामा रहेको संकेत गर्छ ।
आर्यनको दायाँबायाँ खगेन्द्र लामिछाने र दयाहाङ राईलाई राखिएको छ । उहाँहरूको अनुहारमा आक्रोश, पीडा र अन्यायको भाव देखिन्छ । उहाँहरूसहित पोष्टरमा अभिनेत्री अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत पनि चित्रित हुनुहुन्छ ।
चलचित्रमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिकासहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय छ ।
निर्देशक दिनेश राउतले सामाजिक यथार्थपरक विषयमा चलचित्र बनेको बताउनुभयो । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको चलचित्रका निर्माता हिमाल कडरिया हुनुहुन्छ भने स्क्रिप्ट विकास सुवेदीले लेख्नुभएको हो । चलचित्रको छायाँकानमा राजेश श्रेष्ठ हुनुहुन्छ भने सम्पादन निमेष श्रेष्ठको छ ।