युगान्डामा जारी वुमन्स डे टी-२० कपमा नेपाल हङकङसँग पराजित।

युगान्डा:= युगान्डामा जारी वुमन्स डे टी-२० कपमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले सात विकेटको क्षतिमा ९८ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बलमा दुई चौकाको मद्दतमा ३२ रन बनाएर रनआउट हुँदा टोलीले हार भोग्न पर्‍यो ।

पूजा महतोले २८ बलमा दुई चौका प्रहार गर्दै १९ रन बनाएर क्याचआउट हुनुभएको थियो । ओपनर साना प्रवीन २६ बल खेल्दा १० रन र सम्झना कुमारी खड्काले दुई बलमा एक रन जोडेर आउट हुनुभयो । बिन्दु रावलले १७ बलमा १४ रनको योगदान गर्नुभएको थियो । कविता जोशी र रुविना क्षेत्रीले कुनै बलका सामना गर्न नपाउँदै रनआउट हुन पुग्नुभयो ।

कप्तान बर्मासँग तालमेल नमिल्दा दुवै आउट हुनुभयो । इन्दु पनि त्यसैगरी रनआउट हुनुभयो । रोमा थापाले १२ बलमा १३ र ईश्वरी बिष्टले दुई बलमा दुई रन जोड्दै नटआउट रहनुभयो । हङकङकी मारिको हिलले दुई तथा सिउ मे वाइ र चाङ का इङले समान एक विकेट लिनुभयो।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा सात विकेट गुमाउँदै १०० रन बनाएको थियो । हङकङका लागि ओपनर नताशा माइल्सले सर्वाधिक ३५ रन बनाउँदा मारिको हिलले २१ र चाङ का यिङले १२ रन बनाउनुभएको थियो ।

यास्मिन दासवानी ११ रनमा नटआउट रहँदा मरियम बिबी र शान्जीन शहजादले समान सात रन जोडनुभयो । नेपालका ईश्वरी विष्ट र कप्तान इन्दू बर्माले दुई/दुई विकेट लिनुभएको थियो । पूजा महतो र रचनाकुमारी चौधरीले एक एक विकेट लिनुभयो ।

यसअघि नेपाल नामिवियासँग पराजित भएको थियो भने युगान्डालाई एक विकेटले हराएको थियो । पहिलो चरणमा खराब प्रदर्शन गर्दा नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । अब तीन वटै टोलीसँग दोस्रो चरणको खेल हुनेछ । त्यसपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । नेपालले बुधबार नामिबियासँग, बिहीबार युगान्डासँग र शुक्रबार हङकङ चाइनासँग खेल्नेछ।