मलेसिया रोजगारीमा निश्चित म्यानपावरको एकाधिकार “सिन्डिकेट” लागू हुँदैन: श्रम मन्त्रालय।

काठमाडौं := श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउन निश्चित म्यानपावर व्यवसायीलाई लाभ हुने (एकाधिकार) सिन्डिकेट गरी हाल कुनै पनि नीतिगत निर्णय नभएको र भविष्यमा पनि नहुने प्रस्ट पारेको छ ।

श्रम मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसियामा नेपाली कामदार पठाउने विषयमा एकाधिकार गर्न खोजिएको विषयलाई अफवाह फैलाइएको भन्दै आफ्नो ध्यानकर्षण जनाएको हो । मन्त्रालयले  भ्रामक र आधारहीन विषयको पछाडि नलाग्न अनुरोध गरेको छ ।

नेपालको श्रम आप्रवासन प्रक्रिया खुला, पारदर्शी र भेदभावरहित रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ। साथै, श्रम आप्रवासनलाई थप व्यवस्थित र कामदारमैत्री बनाउन नीतिगत तथा कानुनी सुधारहरू निरन्तर भइरहेका मन्त्रालयले जनाएको छ।

यता मलेसिया सरकारले आफूलाई चाहिनेभन्दा बढी विदेशी कामदार भएको जनाउँदै गत जेठदेखि नेपालसहित स्रोत देशबाट कामदार भर्ना गरेको छैन । मलेसियाको रोजगारी पुर्ण रुपमा कहिले खुल्छ भन्ने अझै निश्चित भइसकेको छैन । तर अब केहि महिनाभित्रमा सुरक्षागार्ड को क्षेत्रमा नेपालीलाई भर्ना एप्रुभल खुल्न सकिने सम्भावना बढेको छ ।