राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापा ठगी आरोपमा अमेरिकामा पक्राउ।

अमेरिका := राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का केन्द्रीय सदस्य मोहनजंग थापा ठगी आरोपमा अमेरिकामा पक्राउ परेका छन् । पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय एयरपोर्टमा यूएस कस्टम एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले १७ फेब्रुअरी (५ फागुन) मा उनलाई पक्राउ गरेको पुष्टि भएको छ ।

मेरिल्यान्ड राज्यको बाल्टिमोर बस्दै आएका थापा १६ फेब्रुअरीमा नेपालबाट अमेरिका फर्किएका थिए । उनी फर्कंदा कतारमा आयोजित रास्वपाको कार्यक्रममा समेत सहभागी भएका थिए । ग्रिनकार्ड प्राप्त गरेर अमेरिका बस्दै आएका उनलाई सीबीपीले पक्राउ गरेर यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईस) को जिम्मा लगाएको थियो ।

उनलाई फिलाडेल्फिया फेडरल डिटेक्सन सेन्टरमा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरेर अमेरिका बस्दै आएका आप्रवासी आपराधिक गतिविधिमा संलग्न भेटिएमा यस्तो सेन्टरमा राख्ने गरिन्छ । थापाले बाल्टिमोरमा मोटर ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका थिए ।

उनले गैरकानुनी रूपमा चालक अनुमतिपत्रको सिफारिस दिने गरेको, बाल्टिमोरस्थित अमेरिकी जिल्ला अदालतमा नक्कली परिचयपत्र पेस गरेको र त्यही परिचयपत्रबाट इमेल ठेगाना बनाई ठगी गरेको आरोप स्वीकार गरिसकेको अफिस अफ इन्स्पेक्टर जेनेरलले जनाएको छ ।

सो कार्यालयका अनुसार थापाले मोटर भेहिकल एडमिनिस्ट्रेसन (एमभीए) का एक कर्मचारीसँग मिलेर रकम आदानप्रदान गरी कागजातविहीन विदेशी नागरिकलाई नक्कली परिचयपत्र बिक्रीवितरण गरेका थिए । अमेरिकाबाट नेपालमा ठूलो रकम अनधिकृत रूपमा पठाउने गरेको आरोपमा समेत थापामाथि छानबिन भइरहेको छ ।

थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानका पूर्वअध्यक्ष समेत हुन् । उनी केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए । त्यसपछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा थिए ।

नेपालमा आफूमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको सुइँको पाएपछि थापा अमेरिका फर्किएका थिए । थापाले राष्ट्रसंघ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा देखाउने भन्दै सामाजिक सञ्जाल फेसबूकबाट आह्वानसमेत गरेका थिए । लगत्तै उनीहरूको कार्यक्रम स्थगित गरिएको थियो ।

यता रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले थापा पक्राउ परेको पुष्टि गरेका छ्न । उनले भने, ‘थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारी आएको छ। पक्राउ पर्नु अघि नै उहाँले केन्द्रीय सदस्यबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो ।’

थापाले व्यक्तिगत र कानूनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नुपर्ने भएकाले किनारा नलागेसम्म केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएका कार्यवाहक प्रवक्ता झाले जानकारी दिएका छ्न ।