मलेसियामा इमिग्रेशनद्वारा अवैधानिक श्रमिकमाथी व्यापक छापामारी धरपकड गरि पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग इमिग्रेशनले पछिल्लो केहि महिनायता अवैधानिक हैसियतमा देशभित्र लुकेर बसेका आप्रवासी श्रमिकहरु लाई धरपकडको साथ पक्राउ गरि जेल चलान गर्ने , डिपोर्ट गर्ने कार्यलाई तीव्रता दिएको छ ।

अध्यागमन विभागले जोहर र सेलांगोरमा रहेको अवैध विद्युतीय तथा इलेकट्रोनिक फोहोर (ई–वेस्ट) प्रशोधन गर्ने १२ वटा कारखानामा एकैसाथ छापा मारेर विभिन्न अपराध गरेको आशंकामा नेपालीसहित ४ सय २० अवैध आप्रवासीलाई पक्राउ गरेको हो ।

अध्यागमनद्वारा पक्राउ पर्नेमा नेपालीसहित म्यानमार , बङ्लादेश , इन्डोनेसिया , पाकिस्तान , भारतलगायत देशका आप्रवासी श्रमिकहरु रहेको अध्यागमन विभागले जनाएको छ ।

छापामारीको क्रममा ती आप्रवासी हरु बस्ने ठाउँ अत्याधिक फोहोर रहेको र असुबिधाजनक एउटै कोठामा जबरजस्ती धेरैजना बस्ने गरेको फेला पारेको , जसले गर्दा आप्रवासी श्रमिकको स्वास्थ्यमा समेत नराम्रो असर पर्ने अध्यागमनले जनाएको छ ।

पक्राउ परेकासँग वैध ट्राभल डकुमेन्ट नभएको, ओभरस्टेमा बसेको, ट्राभल डकुमेन्टको दुरुपयोग गरेको अध्यागमनका उपमहानिर्देशक जाफरीले बताए । ‘पक्राउ परेका २० देखि ३० वर्षका छन्, जसमा अधिकांश बंगलादेशी छन्, त्यसपछि म्यानमारका र नेपाली छन्,’ उनले जालान बुलोह कासापस्थित कारखानामा अपरेसनपछि भने ।

जालान बुलोह कासापमा पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि मेलाकाको माछाप उम्बु अध्यागमन डिपो र जोहरको पेकान नानस अध्यागमन डिपोमा लगिएको उनले बताए । विभागले विदेशी कामदारको व्यवस्थापनमा रोजगारदाताको प्रतिनिधिको भूमिका निर्वाह गर्ने ३० वर्ष नाघेका पाँच स्थानीयलाई पनि नियन्त्रणमा लिएको उनले बताए ।

‘अध्यागमन ऐन १९५९–६३ र अध्यागमन नियमावली १९६३ को नियमावली ३९(ख) अन्तर्गत कारबाही गरिनेछ,’ जाफरीले भने, ‘उनीहरूले पटकपटक अपराध गरेका छन् कि छैनन् भन्ने पनि अनुसन्धानले पत्ता लगाउनेछ ।’ गत शनिबार पनि भएको अपरेसनमा १७ देखि ५७ वर्ष उमेर समूहका ६ सय ३० जनामध्ये ५ सय ९८ विदेशीलाई पक्राउ गरिएको थियो ।

अध्यागमनले छापामारी गरि पक्राउ गर्ने कार्यलाई तिव्रता दिएको भन्दै मलेसियास्थित नेपाली राजदूतावासले अवैधानिक हैसियतमा रहेका नेपालीहरु लाई दूतावासमा आई ट्राभल डकुमेन्ट बनाएर अध्यागमनमा लाग्ने जरिवाना रकम तिरि घर फर्कन सुझाव दिइँदै आएका छ्न ।