नेपाल र म्यानमारबीच आज (बुधबार) प्रतिस्पर्धा हुँदै, बलियो नेपाली टिमले जित्लान् त ?

काठमाडौं := अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच आज (बुधबार) प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल आज साँझ ६ बजे दशरथ रंगशाला त्रिपुरेश्वरमा सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

फाइनलअघि दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । उहाँले यसअघिका तीनवटै खेलमा आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै फाइनलका लागि पनि आफूहरू तयार रहेको बताउनुभयो ।

उहाँले उपाधि जित्न आफ्ना खेलाडीले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । ‘म्यानमारका अधिकांश खेलाडी युरोप र अष्ट्रेलियामा व्यावसायिक फुटबल खेल्छन् । उनीहरूको खेल निकै राम्रो छ । तर, यो प्रतियोगितामा हाम्रा खेलाडीले पनि अब्बल प्रदर्शन गरेका छन् । म्यानमारविरुद्ध पनि हामीले गतिलो प्रदर्शन ग¥यौँ । समग्रमा हामी फाइनलका लागि तयार छौँ,’ उहाँले भन्नुभयो ।

नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले पनि फाइनलमा आफू उत्कृष्ट खेल पस्कन तयार रहेको प्रतिक्रिया दिनुभयो । उहाँले म्यानमार बलियो टोली रहेको बताउँदै आफूहरूले प्रारम्भिक चरणको खेलमा पनि स्तरीय प्रदर्शन गरेको जिकिर गर्नुभयो । ‘हाम्रा सबै खेलाडी फाइनलका लागि तयार छन् । अहिलेसम्म हामी सिल्भर मेडलमा छौँ । भोलि गोल्ड मेडलका लागि फाइट गर्नेछौँ । दुवै टिमले उपाधिका लागि खेल्ने हो । जसले राम्रो प्रदर्शन गर्छ उपाधि त्यसैले जित्ने हो । हामी आफ्नातर्फबाट बेस्ट दिने प्रयास गर्नेछौँ,’ उहाँले भन्नुभयो ।

म्यानमारकी कप्तान बिन थेइङ तुनले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताउनुभयो । उहाँले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताउँदै आफूहरूले फाइनलमा सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया दिनुभयो ।

म्यानमारका प्रशिक्षक तेत्सुको युकीले पनि आफ्ना खेलाडी फाइनलका लागि तयार रहेको बताउनुभयो । ‘अहिलेसम्म हाम्रा खेलाडीले गतिलो प्रदर्शन गर्दै आएका छन् । हामी फाइनलका लागि तयार छौँ, आशा छ, मेरा खेलाडीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछन्,’ उहाँले भन्नुभयो ।

एन्फाका अनुसार नेपाल र म्यानमारबीच बुधबार हुने फाइनल खेलका लागि भिआइपी सिटका लागि दुई हजार रुपैयाँ र साधारण सिटका लागि एक हजार रुपैयाँ टिकट दर कायम गरिएको छ । लिगमा भिआइपीतर्फ एक हजार र साधारणतर्फ ५०० रुपैयाँको टिकट दर राखिएको थियो । त्यस्तै, फाइनल खेलका लागि पाँच वर्षभन्दा माथिको उमेरका बालबालिकालाई पनि शुल्क लाग्ने एन्फाले जनाएको छ ।

च्याम्पियनसिपमा नेपालसहित लेबनान, ताजकिस्तान र म्यानमार सहभागी छन् । म्यानमार र नेपाल समूह विजेता र उपविजेता बनेर फाइनल पुगेका हुन् । समूह चरणको अन्तिम खेलमा दुई टोली दुई-दुई गोलमा रोकिएका थिए । बुधबार फाइनल खेल निर्धारित ९० मिनेटको समयमा बराबरीमा रोकिए ३० मिनेट अतिरिक्त समय थपिनेछ । थप समयमा पनि बराबरी भएमा खेल ट्राइब्रेकरमा धकेलिनेछ ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमार अपराजित रहँदै फाइनल पुगेका हुन् । दुवैले तीनमध्ये दुई खेल जित्दा एक बराबरी खेल्दै समान सात अंक जोडेका थिए । गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेका हुन् ।

नेपालले कीर्गिस्तान र लेबनानलाई समान एक–शून्य गोलले पराजित गरेको थियो । म्यानमारले लेबनानलाई तीन–एक र कीर्गिस्तानलाई पाँच-शून्यले हराएको थियो । नेपाल र म्यानमारबीच भएको लिगको अन्तिम खेल दुई-दुईको बराबरीमा सकिएको थियो ।

नेपालले तीन खेलमा जम्मा चार गोल गरेको छ भने म्यानमारले १० गोल गरेको छ । नेपाल र म्यानमारबीच अहिलेसम्म चार खेल भएको छ, जसमा नेपाल जितविहीन छ । म्यानमार दुई खेलमा विजयी हुँदा दुई खेल बराबरीमा सकिएको थियो ।

बलियो नेपाली टिम  

दक्षिण एसिया बाहिरका देशहरुबीचको यो भिडन्तमा घरेलु मैदान र दर्शकको फाइदा नेपाललाई छ। स्टार खेलाडी साबित्रा भण्डारी साम्बासँगै अन्य देशका लिग खेलिरहेका नेपाली टोलीका अन्य खेलाडीले नेपाली टोली बलियो स्थितिमा देखिन्छ।

व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी अवुधावी काउन्ट्रीमा अनुबन्ध रेखा पौडेल र ग्रिसको क्लब महिला ‘ए’ डिभिजन खेलिरहेकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको अनुभवले पनि नेपाली टोली हौसिएको छ। साम्बा पनि फ्रान्सेली क्लबमा आबद्ध छिन्। साम्बाले यो प्रतियोगितामा २ गोल गरेकी छिन्। उनले लेबनान र म्यानमारविरुद्ध १–१ गोल गरेकी छिन्।  गोलकिपरमा अन्जना राना मगर र उषानाथ नेपाली टोलीको राम्रो विकल्प हुन्।

डिफेन्समा गीता राना, अमृता जैशी, पूजा राना, विमला विक, निशा थोकर अनुभवी छन्। समिक्षा घिमीरे, विमला चौधरी र मनमाया दमाइ पनि डिफेन्समै छन्। नेपाल मिडफिल्डको खम्बा प्रिति राई हुन्। उनीसँगै सविता राना मगर, रेनुका नगरकोटी, अनिता बस्नेत , सरु लिम्बूले नेपाली टोली सन्तुलित बनेको छ।

मिडफिल्डमा रेनुका हमाल र सुष्मा तामाङ पनि टोलीमा छन्। प्रिति र सविताको लिग चरणमा निकै उत्कृष्ट खेल प्रर्दशन भएको छ। नेपालको सबैभन्दा बलियो पक्ष भनेको साम्बा अग्रपंक्तिमा हुनु हो। विगत केही वर्षदेखीको इतिहास पल्टाउने हो भने साम्बाको आक्रमक प्रस्तुतीले नेपालको स्कोरिङ उकासिरहेको छ।  हार्नै लागेको खेलमा पनि साम्बाले कमब्याक गराएको  स्थीति छ।

लिग चरणमा २–१ ले पछि परेको अवस्थामा म्यानमारविरुद्ध साम्बाले नै गोल गर्दै खेललाई बराबरीमा पु¥याएकी थिइन्। अग्रपंक्तिमा रश्मी कुमारी घिसिङ, रेखा पौडेल अनिता केसी पनि उत्तिकै संभावना बोकेका खेलाडी हुन्। अग्रपंक्तिमा चन्द्रा भण्डारी पनि रहेकी छिन्।