पोखरा:= सहकारीको बचत अपचलनबाट आर्जित रकम जीबी राईले लीला पछाई र मलेसियाका एनआरएनए विश्वविक्रम राईमार्फत ‘क्रिप्टो करेन्सी’ मा लगानी गरेको भेटिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पछाई र राईमार्फत १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ बराबरको डिजिटल कारोबार गरी क्रिप्टो करेन्सीमा लगानी गरेको फेला पारेको हो ।
रवि लामिछानेसहित आइतबार ४४ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्ने क्रममा जिल्ला सरकारी वकिल कार्यालयले क्रिप्टो करेन्सीमा लगानी भएको प्रमाणसमेत बुझाएको छ । सूर्यदर्शन सहकारीबाट समेत पछाईको बैंक खातामा रकम गएको देखिएपछि उनलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो । गुल्मीको सामान्य परिवारकी पछाई जीबीकै संगतले विलासी जीवन बिताइरहेकी थिइन् ।
सूर्यदर्शन सहकारीबाट उनको प्राइम बैंकको खातामा सोझै ५० लाख रुपैयाँ र सूर्यदर्शन हुँदै जीबी राईको खाताबाट १ करोड ५० लाख रुपैयाँ जम्मा भएको छ । उनको नाममा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महाराजगञ्ज र न्युरोड शाखामा ५० लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरिएको भेटिएको छ ।
उक्त रकम उनले आफ्नो नाममा ललितपुरको खुमलटारमा घर किन्न, पोखराको रिठ्ठेपानीमा आमा राधा पछाईको नाममा घर किन्न, दिदी गीता पछाईका नाममा बुटवलमा जग्गा किन्न, गाडी, स्कुटर र गरगहना किन्न खर्च गरेकी छन् । पछाईले उक्त रकम लिएको प्रहरीसँगको बयानका क्रममा स्वीकारेकी छन् ।
लीला पछाईको मोबाइलबाट भएको क्रिप्टो करेन्सी कारोबारको विश्लेषण प्रहरीले गरेको छ । पछाईको मोबाइल परीक्षणको क्रममा उनले जीबी राईको विभिन्न मोबाइल बैंकिङ एप आफ्नै मोबाइलबाट चलाएको भेटिएको थियो । आइक्लाउड खाताबाट बाइनान्स एप र क्रिप्टो करेन्सीको कारोबार गर्ने कम्पनी भीट्याब्समा कारोबार गरेको अनुसन्धानका क्रममा पत्ता लागेको थियो ।
त्यसरी कारोबार भएको रकम १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ रहेको छ । पछाईले जीबी राईले आफूलाई विश्वास गरी घर, गाडी किन्न रकम दिए पनि क्रिप्टो कारोबार भने जीबीकै निर्देशनमा विश्वविक्रम राईमार्फत भएको बयान दिएकी छन् ।
घुम्न जाँदा एकपल्ट भेटेको उनले बयानमा भनेकी छन् । ‘म र जीबी राई मलेसिया घुम्न जाँदा विश्वविक्रम राईलाई एकपल्ट मात्र भेटेकी छु । उनी मलेसियाको एनआरएन हुन् भन्ने सुनेकी छु । उनले जीबी राईसँग सहकार्य गरेर मलेसियामा नेचर हर्ब्स इन्टरनेसनल प्रालि सञ्चालन गरेका छन् भन्ने सुनेकी छु,’ उनले अनुसन्धान अधिकारीसँग बयानमा भनेकी छन् ।
उनले जीबी राईकै ह्वाट्सएपमार्फत विश्वविक्रमसँग कुराकानी गरेको भेटिएको छ । जीबी राईको मोबाइल बैंकिङ एप आफूले चलाएको र जीबीले भनेबमोजिमको रकम विश्वविक्रम र उनकी श्रीमती सविना गुरुङको खातामा जम्मा गरिदिएको पछाईको बयानमा छ ।
अभियोगपत्रमा उल्लेख गरिएको उनको बयानमा भनिएको छ, ‘जीबी राईले तिमीले विश्वविक्रम राईलाई जम्मा गरिदिएको रकम मैले उहाँमार्फत भीट्याब्समा लगानी गरिदिएको छु, यो व्यापार हो तिमी विश्वविक्रम राईसँग समन्वय गरी भीट्याब्समा जोइन हुनु भन्नुभएकाले म विश्वविक्रम राईसँग समन्वय गरी उक्त रकम लगानीको सुनिश्चितताको लागि जुम मिटिङ हुने बेलामा विश्वविक्रम राईले बाइनान्स एप खोल्नको लागि सिकाएबमोजिम टाइपिङ गर्ने क्रममा मेरो बाइनान्स एपमा अकाउन्ट क्रियट भएको, विश्वविक्रम राईले भने अनुसार मोबाइलमा उक्त आईडी लग इन भएकोसम्म हो ।’