लाहौर (एजेन्सी):= च्याम्पियन्स ट्रफीको ९औँ संस्करण फेब्रुअरी १९ देखि पाकिस्तानमा सुरु हुँदैछ । आठ वर्षपछि हुन लागेको प्रतियोगिता यसअघि अन्तिम पटक सन् २०१७ मा इंग्ल्याण्ड र वेल्सले आयोजना गरेका थिए। च्याम्पियन्स ट्रफीमा धेरै ठूला कीर्तिमानहरू तोडिने अपेक्षा छ ।
च्याम्पियन्स ट्रफीमा अहिलेसम्म ११ बलरले ५ विकेट लिएका छन् । तर, यी कुनै पनि बलरले एक पटकभन्दा बढी पाँच विकेट लिन सकेका छैनन् । यसमध्ये भारतका रविन्द्र जडेजाले मात्रै दोस्रो पटक ५ विकेट लिने मौका पाउनुहुनेछ । एक पटकमा पाँच विकेट लिने ११ बलरमध्ये यसपटक जडेजामात्रै खेल्नुहुनेछ ।
च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान क्रिस गेलको नाममा छ । सन् २००२ देखि २०१३ सम्म गेलले ७९१ रन बनाउनुभएको थियो । सक्रिय ब्याट्सम्यानमध्ये विराट कोहली ५२९ रन बनाएर पहिलो नम्बरमा हुनुहुन्छ । रोहितले ४८१ रन बनाउनुभएको छ ।
दुवैले गेललाई पछि पार्ने मौका पाउनुहुनेछ । च्याम्पियन्स ट्रफीमा एकपटक पनि ३५० रनको स्कोर पार हुन सकेको छैन । सर्वाधिक स्कोरको कीर्तिमान न्युजिल्याण्डको नाममा छ । उहाँले सन् २००४ मा अमेरिकाविरुद्ध ३४७ रन बनाउनुभएको थियो । पाकिस्तानको पिचलाई हेर्दा यो रेकर्ड तोड्ने निश्चित छ ।
च्याम्पियन्स ट्रफीमा सबैभन्दा ठूलो इनिङ खेल्ने कीर्तिमान न्युजिल्याण्डका नाथन एस्टलको नाममा छ । सन् २००४ मा उहाँले अमेरिकाविरुद्ध नटआउट १४५ रन बनाउनुभएको थियो । अहिले क्रिकेट जसरी चलिरहेको छ, यो रेकर्ड तोड्ने निश्चित छ । हालै पाकिस्तानमा एकदिवसीय डेब्युमा सबैभन्दा ठूलो इनिङ खेल्ने कीर्तिमान तोडिएको छ ।
च्याम्पियन्स ट्रफीको सबैभन्दा महँगो स्पेल पाकिस्तानका वाहब रियाजले गर्नुभएको छ । २०१७ मा भारतविरुद्ध उहाँले ८.४ ओभरमा ८७ रन दिनुभएको थियो । पाकिस्तानको पाटा विकेटलाई हेर्दा रियाजको कीर्तिमान तोडिने सम्भावना छ । त्रिकोणीय सिरिजमा शाहिन अफ्रिदीले १० ओभरमा ८८ रन दिनुभएको थियो ।




















