एमसीसी अन्तर्गत नेपालमा कार्यन्वयन भइरहेका आयोजनाहरु रोकियो।

काठमाडौं := अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको छ।

अर्थमन्त्रालयले विज्ञप्ति मार्फत नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको जानकारी गराएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जनवरी २० मा जारी गरेको ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार नेपालमा हुँदै आएको भुक्तानी समेत रोकिएको अर्थमन्त्रालयले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ।

”अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ।” अर्थमन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो ।यस अघि युएसएडबाट फण्ड प्राप्त गर्ने सबै आयोजनाहरु रोकिएका थिए ।