काठमाडौं := जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने भएको छ । नेपाल र जापानका कम्पनीहरूले ‘नेपाल-जापान सेवा आदान-प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार ‘केयर गिभर’ लैजाने घोषणा गरेका हुन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एण्ड कम्पनी प्रालि र सन्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।
स्वास्थ्य सेवाका क्षेत्रमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले बताउनुभयो । उहाँका अनुसार सम्झौताले जापानमा रोजगारी खोज्नेलाई व्यवस्थितरूपमा पुग्न मद्दत गर्नेछ ।
१८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन् । जापानी भाषाको आधारभूत ज्ञान ‘एन-फोर लेभल’को भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपाली ‘केयरगिभिङ’मा जान पाउनेछन् ।
भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकालाई अन्तर्वार्तामार्फत् जापानी कम्पनीले छनोट गर्ने पिएसएसका कार्यकारी निर्देशक चिजो मासुदाले बताउनुभयो । उहाँका अनुसार छनोट भएकालाई नेपालमै आवश्यक सूचना प्रविधि र एआईलगायतका तालिम प्रदान गरिनेछ, जसले सो क्षेत्रमा काम गर्न चाहनेलाई झन्झटरहित सेवा दिनेछ ।
तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउनेछन्् । जापानमा केयरगिभरले मासिक दुई लाख जापानी येनसम्म कमाउने बताइएको छ । नेपालीहरूलाई जापानको रोजगारीमात्र नभएर अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा तालिम पनि प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।