लिस्बोन:= स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू फुटबल इतिहासको सर्वश्रेष्ठ खेलाडी भएकोमा कुनै शंका नरहेको बताउनुभएको छ । स्पेनको टेलिभिजन च्यानल ‘ला सेक्स्टा’सँगको अन्तर्वार्तामा उहाँले आफूले आफैंलाई सधैं सर्वश्रेष्ठ खेलाडी मान्ने कुरा दोहोर्याउनुभयो ।
‘म इतिहासको सबैभन्दा ठूलो स्कोरर हुँ,’ रोनाल्डोले भन्नुभएको छ, ‘म बायाँ खुट्टे खेलाडीमात्रै होइन, गोल गर्ने इतिहासको शीर्ष १० खेलाडी हुँ । म अहिलेसम्मकै सबैभन्दा पूर्ण खेलाडी हुँ ।’
साउदी अरबमा अल-नासरबाट खेलिरहनुभएका रियल मड्रिडका पूर्वस्टार रोनाल्डोले बुधबार आफ्नो ४०औँ जन्मदिन मनाउनुभएको थियो । ‘म राम्रो हेडर गर्छु, उत्कृष्ट फ्रिकिक लिन्छु, म छिटो छु, बलियो छु र राम्रो जम्प गर्छु,’ उहाँले भन्नुभयो, ‘मैले अहिलेसम्म मभन्दा राम्रो खेलाडी देखेको छैन ।’
रोनाल्डोले यसअघि पनि आफू इतिहासकै महान् खेलाडी भएको दाबी गर्दै आउनुभएको छ । पोर्चुगलका स्टार रोनाल्डोले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल र सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाइ सक्नुभएको छ । उहाँले २१७ खेलमा १३५ गोल गर्नुभएको छ । एजेन्सी ।




















