भारत र पाकिस्तानबीचको खेलको टिकट केही मिनेटमै बिक्री, कति थियो त टिकटको मुल्य ?

नयाँदिल्ली:= आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को भारत र पाकिस्तानबीचको खेलको टिकट केही मिनेटमै बिक्री भएको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगितामा भारत र पाकिस्तानबीचको खेल यही फेब्रुअरी २३ मा दुबईमा हुनेछ ।

टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार सोमबार साँझ ५.३० बजेबाट हाई भोल्टेज खेलको टिकट बिक्री सुरु भएको थियो । टिकटको सबैभन्दा कम मूल्य १२५ दिराम अर्थात् भारतीय मुद्रामा २९६४ रुपैयाँ थियो । जहाँ प्रिमियम लाउन्जको मूल्य पाँच हजार दिराम भारतीय मुद्रामा १ लाख १८ हजार रुपैयाँ थियो ।

पाकिस्तान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । २०१७ च्याम्पियन्स ट्रफीमा पाकिस्तानले फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्याण्ड छन् । समूह ‘बी’ मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।

सबै टोलीले समूहमा तीन–तीन लिग खेल खेल्नेछन् र शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । यदि भारतीय टोली सेमिफाइनल वा फाइनलमा पुग्यो भने खेलहरू दुबईमा हुनेछन् । भारत-पाकिस्तान खेलअघि भारत बंगलादेशसँग भिड्नेछ, जुन खेल २० फेब्रुअरीमा हुनेछ । एजेन्सी ।