क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्ला।

एजेन्सी:= क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्लाको नाम पनि परेको छ । रुबी टोरन्टो क्षेत्रकी पूर्व लिबरल सांसद र प्रेरक वक्ता पनि हुनुहुन्छ । क्यानडामा बसोबास गर्ने पञ्जाबको आप्रवासी परिवारमा जन्मिनुभएकी ढल्ला पहिलोपटक सन् २००४ मा हाउस अफ कमन्समा निर्वाचित हुनुभएको थियो । त्यसको केही समयअघि मात्रै उहाँको पहिलो र एकमात्र चलचित्र रिलिज भएको थियो ।

५० वर्षीया ढल्लाले दुई दशकअघि हिन्दी भाषाको फिल्म ‘क्योँ ? किस लिए ?’ मा अभिनय गर्नुभएको थियो । बलिउड प्रेरित यो हिन्दी भाषाको यो चलचिलाई विनोद तलवारले निर्देशन गर्नुभएको थियो । सन् २००३ मा रिलिज भएको चलचित्रमा रुबीले प्रहरी अफिसरको भूमिका निर्वाह गर्नुभएको थियो ।

रुबी कन्जरभेटिभ नीना ग्रेवालसँगै क्यानडाको संसदमा निर्वाचित हुने भारतीय मूलकी पहिलो महिला हुनुहुन्छ । उहाँ २००६ र २००८ मा हाउस अफ कमन्समा पुनः निर्वाचित हुनुभएको थियो भने २०११ मा पराजित हुनुभएको थियो ।

हालै सिबीसीलाई दिएको अन्तर्वार्तामा उहाँले आफू अहिलेसम्म तीनपटक सांसद बनेको र लामो समयदेखि राजनीतिबाट टाढा रहेको बताउनुभएको थियो । रुबीले समाचार संस्था सीपी२४ सँग कुराकानी गर्दै आफ्नो आगमनले प्रधानमन्त्रीको दौडमा विविधता ल्याएको बताउनुभयो ।