काठमाडौं := प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने गरिन्छ । सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ सरस्वती पूजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भिड लाग्ने गर्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वती पूजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।
विद्या र सिर्जनाकी देवी भएकाले आज विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । आज काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा वाचन गरी वसन्त श्रवण गर्ने प्रचलन रहेको छ ।
मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पूजा आराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास छ । सरस्वती पूजाको दिन कुनै पनि प्रकारका साइत तथा मुहूर्त हेर्न नपर्ने तथा यस दिन गरिएका हरेक कर्महरू सिद्ध हुनेसमेत शास्त्रमा उल्लेख गरिएको बताइन्छ ।
चन्द्रमाजस्तो गोरो वर्ण हुनुभएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगनमाता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनुलगायत हजारौँ नाम हुनुभएकी देवीको ‘सरस्वती कवच’को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शंकराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गर्नुभएको थियो भन्ने कथन पनि छ ।
आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ ।
उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ।