नयाँदिल्ली:= आइसिसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । आइतबार दिउँसो मलेसियाको क्वालालम्पुरमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतीय महिला टोलीले उपाधि जितेको हो ।
भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित ग¥यो। भारतले लगातार दोस्रोपटक महिला यू-१९ टी-२० विश्वकपको उपाधि जितेको हो । भारतले सन् २०२३ मा प्रतियोगिताको पहिलो उपाधि जितेको थियो ।
दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । भारतका त्रिशा गोंगडीले सर्वाधिक ४४ रन बनाउनुभयो । सानिका चाल्केले २२ बलमा २६ रनको अविजित इनिङ खेल्नुभयो ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकी टोलीले २० ओभरमा ८२ रन बनाएको थियो । अफ्रिकी टोलीका १० मध्ये ४ ब्याट्सम्यानले मात्रै दोहोरो अंक छुन सके । अफ्रिकी टोलीले ९ रनमै अन्तिम ५ विकेट गुमाएको थियो ।
बलिङमा भारतका लागि त्रिशा गोंगडीले तीन, पारुनिका सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले दुई/दुई विकेट लिनुभयो । गत वर्ष जुनमा भारतीय पुरुष टोलीले २०२४ को टी-२० विश्वकपको उपाधि जितेको थियो । रोहित शर्माको कप्तानीमा भारतीय टोलीले पुरुष टी-२० विश्वकपको उपाधि जितेको थियो । एजेन्सी ।