अमेरिकामा रहेका १३ सय भन्दा बढी नेपाली निष्कासनमा पर्ने।

एजेन्सी := डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया तीव्र बनाएको छ । जसमा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ आप्रवासीको संख्या सार्वजनिक भएको छ । आप्रवासी निष्कासन अभियानअन्तर्गत एक हजार ३६५ नेपाली निष्कासनमा पर्ने भएका छन् ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार एक हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् । अमेरिकाबाट निष्कासन हुनेमा सबैभन्दा धेरै होण्डुरसका दुई लाख ६१ हजार ६५१ जना, ग्वाटेमालाका दुई लाख ५३ हजार ४१३ जना, मेक्सिकोका दुई लाख ५२ हजार ४४ जना रहेका छन् ।

चीनका ३७ हजार ९०८ जना र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन् । अमेरिकाको आन्तरिक सुरक्षा विभागका अनुसार अमेरिकामा तीन लाख जनाभन्दा धेरै नेपाली मूलका बासिन्दा छन् । जसमध्ये दुई लाख जनाले ग्रिनकार्ड र झण्डै ८७ हजार जनाले नागरिकता प्राप्त गरेका छन् ।

२० हजार जना विद्यार्थी छन् भने २० हजार जनाले शरणार्थीका रूपमा आवेदन दिएका छन् । सात हजार पाँच सय जनाले अस्थायी आवासीय अनुमति पाएका छन् । अमेरिकाको अध्यागमन र भन्सार प्रवद्र्धन कार्यालयले एक हजार ३६५ भन्दा केही धेरै नेपाली अनधिकृत रहेको अनुमान गरेको छ ।