इनरुवा:= थारु कल्याणकारिणी सभाले माघ १२ गते शनिबार ७६औँ स्थापना दिवसको अवसरमा सुनसरीको सदरमुकाम इनरुवा-५ बलाहा थाकस वडा नं. ५ समितिले भव्य कार्यक्रम आयोजना गरेको छ।
बिनोद चौधरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघीय सांसद अशोक कुमार चौधरी उपस्थित भएका थिए। पूर्वमन्त्री तथा माननीय भगवती चौधरीले विशेष वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गरेकी थिइन्।

थारु कल्याणकारिणी सभा बि.सं. २००५ मा स्थापना भएको हो। यस संस्थाले थारु समुदायको हक, अधिकार, पहिचान तथा विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि सांसद अशोक कुमार चौधरीले थारु समुदायभित्रको कुप्रथा, अज्ञानता, रुढिवादी परम्परा तथा सामाजिक विकृतिहरु हटाउनुपर्नेमा जोड दिए। साथै, थारु समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक उन्नतिका लागि सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।

सांसद चौधरीले थारु समुदायमा राजनीतिक सचेतनाको कमी र उचित नेतृत्वको अभाव रहेको औंल्याउँदै योग्य र सक्षम नेतृत्व विकास गर्न आवश्यक रहेको बताए। उनले थारुहरूले आपसी मतभेदलाई पन्छाउँदै पार्टीभन्दा माथि उठेर समुदायको समग्र हितका लागि एकजुट हुनुपर्ने सुझाव दिए।
थाकसका नेताहरूले थारु समुदायलाई आर्थिक, शैक्षिक तथा सांस्कृतिक सुधारतर्फ अगाडि बढाउनुपर्ने र राष्ट्रिय निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।
नेपालकै इतिहासमा पहिलो पटक बलाहा वडा समितिले थारु कल्याणकारिणी सभाको ७६औँ स्थापना दिवस मनाएको यस ऐतिहासिक कार्यको सबैले प्रशंसा गरेका थिए। कार्यक्रमको अन्त्यमा दिप प्रज्वलन गर्दै ७६औँ स्थापना दिवसको समापन गरिएको थियो।
समाचार स्रोत : सप्तकोसी न्युज



















