चलचित्र ‘एक्टरः टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा प्रदर्शन हुने।

काठमाडौं := यही माघ १६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुनेभएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो चलचित्र केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ ।

गत साता सार्वजनिक भएको ट्रेलरले पाएको चर्चासँगै चलचित्रको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ ।

यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर्ससँगको सहकार्यमा रिलिज गर्दैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा गिरिश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र इस्सा भाइव इभेन्टले रिलिज गर्दैछन् भने जापानमा सचिन आचार्यले विभिन्न कम्पनीहरूको सहकार्यमा रिलिज गर्दै हुनुहुन्छ ।

जापान र अमेरिका रिलिजको लागि चलचित्रका अभिनेता प्रदिप खड्का आफैं जाने हुनुभएको छ । नेपाल रिलिज पछि उहाँ त्यसतर्फ लाग्नुहुनेछ । मध्यपूर्वका देशहरूमा पनि रिलिजको तयारीको अन्तिम चरणमा रहेको निर्माता थमन कुमार भण्डारीले जानकारी गराउनुभयो ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सिर्जना अधिकारी, उषा रजक, सुशील सिटौलालगायत कलाकार प्रमुख भूमिकामा हुनुहुन्छ ।