पुर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म तराई क्षेत्रको रक्षा गर्ने थारू समुदाय, को हुन त ?

पछिल्लो केहि दिन पहिले मधेस प्रदेशको सरकारले भाषा सम्बन्धि विधेयक संसदमा पेश गर्दा पहिलेका तराई क्षेत्र अर्थात अहिले मधेस भनेर जबरजस्ती नामाकरण गरिएको क्षेत्रमा बसोबास गर्ने थारु समुदायको भाषा लाई बाईपास गरि हिन्दी र अङ्ग्रेजी समेटिएको भन्दै यतिबेला थारु अगुवा हरु घोर विरोध गरिरहेका छ्न । ठाउँ – ठाउँमा आन्दोलन समेत गरिरहेका छ्न । चौतर्फी विरोध पश्चात् मधेश प्रदेश सरकारले विधेयक फिर्ता लिए । सोही सन्दर्भमा थारु पत्रकार सहदेव चौधरीले थारु समुदाय र थारु भाषा विरोधी नेता हरुप्रति लक्षित गर्दै लेख्नुहुन्छ :

पत्रकार शहदेव चौधरी

थारूकाे बारेमा थारूका एक जना तथाकथित नेताकाे अभिव्यक्त पढ्दा टिठ लागेर आयाे। उनलाई मेराे सुझाव छ कि अल्प ज्ञान भयंकर खतरा हुन्छ। तपाईंको बाेलीमा भारतीय दलालकाे गन्ध र मधेसी नेताहरुबाट परिचालित प्राेजेक्टेड हाे कि भन्ने आभास महसुस भएकाे छ । थारूकाे भाषा, संस्कृति, कला र पहिचानबारे अध्यन, ज्ञान र अनुभव छैन भने नबाेल्नुस् ।

यदि छ भने भारतीय एम्बेसीमा लगेर जानीबुझी नबेच्नुस् वा मधेसी नेताे राेटी सेकेर नेता बन्नेप्रयास नगर्नुस्। तपाईं आफ्नाे मातृभाषालाई बेचेर अनि हिराे बन्ने अनि थारुमाथि अन्याय गर्न मिल्छ?? हाेइन भने छातीमा हात राखेर थारूमाथिकाे बेइमानी बन्द गर्नुस्। यदि बहस नै गर्न चाहनुहुन्छ भने आउनुस् म तपाईंलाई खुल्ला चुनाैती दिन दिन चाहन्छु। हिम्मत छ ?? लाल माेहर र स्याहा माेहर त तपाईंको पनि पुर्खासँग हाेला नि?? अनि दाङकाे ५५ झ्याले पुर्खाकाे ईतिहास किन यति चाँडै बिर्सेकाे ?? थारूकाे बारेमा अनर्गल प्रचार गर्नुभन्दा बरू यहाँका केही ऐतिहासिक विषयवस्तु अध्ययन गरेर आउनु हाेला। तर हावाकाे भरमा थारू फुटाउने काम नगर्नु हाेला।

अ साच्चै, फेरि कतिपय तथाकथित विद्वानले त थारू भाषा मैथिलीकाे भाषिका हाे, बजिकाकाे भाषिका हाे, भाेजपुरीकाे भाषिका हाे भनेर तथानाम मनमा जे आयाे त्यही लेखिदिएकाा छन् र अनर्गल प्रचार गरिरहेका छन् । थारू महामुर्ख डाक्टरधारी कतिपय विद्वानहरु पुर्वका थारू मैथिलीबाट प्रवाभित छन् भनेर अनर्गल प्रचार गरिरहेकाे देख्दा दया लागेर आउँछ कि थारुहरु भारतको थार भूमिबाट तेह्रौ शताब्दी र सोह्रो शताब्दीको बीचतिर नेपाल तराइमा स्थानान्तरण भएका हुन भनेर किटानीका साथ निष्कर्ष नै निकालिदिएका छन्।

अझ के लेखिदिएका छन् भने राजपुतनीहरु मुसलमानको आक्रमणको क्रममा आफ्ना नोकरचाकरका साथ चिथौरागढ,राजस्थानबाट भागेर नेपाल तराइको भू-भागमा बस्ती बसालेका हुन र सोही संसर्गबाट जन्मेका सन्तान थारु भए। यो जस्तो मुर्खतापूर्ण र बेतुकको प्रस्ताव सिवाय अरु केही हुन सक्दैन। राजपूत एवं तीनका सन्तानहरुले थारुहरुसँग विहावारी गरे होलान् किनभने त्यतिबेला तराइको शासक एवं भूमिपति थारुहरुबाहेक अरु कोही पनि थिएन। तर प्रश्‍न के उठ्छ भने किन राजपूतहरु भारतको अन्‍य बसोबासलायक स्थानहरुमा स्थानान्तरण नभइ त्‍यति परबाट औलोयुक्त तराइको जंगलमा कसरी आए ?

उनीहरुलाई मेराे प्रश्न छ : नेपालकाे तराईमा सबैभन्दा पहिला कस्काे बसाेबास थियाे ? जग्गाकाे बिर्ता कस्काे नाममा थियाे ? लाल माेहर र स्याहा माेहर काे सँग थियाे ?तराईको जमिनमा किसानी पेशा गरेर हराभरा कस्ले बनायाे?? हबेलीमा पुजापाठ गर्न पण्डित, कपाल काट्न ठाकुर (लाैवा), खेत सम्याउन मुसहरलगायतलाई कस्ले जमिन दिएर गाउँ बसायाे ? प्रगणा भाेज गरेर राज कुलाे कस्ले खनायाे र सिचाइ याेग्य उर्वर भूमि बनायाे जसले राणा र राजालाई धानकाे भात खुवायाे। कला संस्कृतिकाे समर्पण भाव कस्ले सिकायाे ??

जहिले तराईमा भारतबाट मधेसी र पहाडबाट पहाडीकाे अन्तरप्रवाह भएकाे थिएन, त्यतिबेला सीमाकाे रक्षा कस्ले गरेकाे थियाे?? बारा,पर्सा, सिरहा, सप्तरी, चितवन, नवलपरासी सुस्ता सिमाना, बाँके, बर्दिया र कैलाली र कन्चनपुरमा कस्काे घना बस्ती थियाे ?? कुन मधेसी र कुन पहाडी त्यहा आएका थिए रक्षक बनेर ?? २ हजार वर्षपहिले थारूहरुकाे पिता पुर्खा के मुखमा माटाे टासेर हिड्थे त? उनीहरुकाे कुनै भाषा थिएन हाेला त ? सबै लाटालाटी थिए त ? पक्कै थिएन हाेला ।

किनकि मानिस स्वभावले नै सञ्चार गर्ने सर्वश्रेष्ठ प्राणी हाे । थारू पनि त्यसमध्येकाे एक आदिम मानव जाति हाे । तराईमा औलाे, मलेरिया पचाएर, बाघ, भालुसँग पैठेजाेरी खेलेर जमिनलाई गुल्जार अनि खेतलाई हराभरा बनाउने असली किसान थिए थारू । उनीहरुकाे आफ्नै सभ्यता ( भाषा, पहिचान, कला, संस्कृति र भेषभूषा) थियाे र छ। अनि तराईमा जसकाे सबैथाेक थियाे भने उसकाे भाषा र संस्कृति कसरी अरूकाे भाषिका बन्याे त ? खनि पहिला बसाेबास गर्ने थारूकाे मातृभाषा कसरी मैथली , भाेजपुरी र बजिकाकाे भाषिका हुन्छ ?? यसबाटै प्रष्ट हुन्छ कस थारू भाषा कसैकाे भाषिका हाेइन र याे कुनै भाषाबाट प्रभावित छैन। थारूकाे भाषा, पहिचान र संस्कृति बेग्लै छ।

बरू भाषाकाे बचाउने नाममा भाषा आयाेगले कतै विदेशी प्रभुहरुसँग साँठगाँठ गरेर राजनीति त गरिरहेकाे छैन भन्ने गम्भीर प्रश्न उब्जाएको छ। यसकाे ताजा उदाहरण गण्डकीमा जबरजस्ती भाेजपुरी भाषीकाे संख्या बढाएर कामकाजीमा सिफारिस गरिनु हाे। पछि विराेध र तथ्यांक कार्यालयकाे तथ्यांक हेर्दा भाषा आयाेगकाे बद्नीयद मात्रै हाेइन ठुलाे बद्मासी भएकाे देखियाे र छानबिन समिति गठन गरेर पछि गण्डकी प्रदेशमा भाेजपुरी भाषा हटाइयाे।

अब मधेसमा पनि थारू भाषामाथि आक्रमणको प्रयास त तब भएकाे महसुस भयाे जब पुछारमा रहेकाे ०.२३ प्रतिशत हिन्दी र सिफारिस नै नभएकाे अंग्रेजीलाई कामकाजमा सिफारिस गरियाे र ५ नम्बर मा रहेकाे थारू भाषा, त्यसपटि मगही, उर्दु, तामाङलाई बाइपास गरियाे। के याे भाषामाथिकाे चरम राजनीति हाेइन र ?? अझ भाषा आयाेगकै अध्यक्षले संविधान विपरीत अभिव्यक्ति दिनु लजास्पद र हास्यास्पद हाेइन र ?? तिनि कुन विदेशी प्रभुकाे पैसा खाएर अध्यक्ष बनेका हुन् ? भन्ने शंका लाग्याे झन्। अब अति भयाे । थारूकाे प्राचीन सभ्यतालाई नामेट पार्ने कुचेष्टा जसले गर्छ, र थारूकाे भाषा, संस्कृतिमाथि जसले पहार गर्न खाेज्छ थारू युवाहरु अब हातमा दही जमाएर बस्न सक्दैन। सबै सचेत भइसकेका छन् ।

काे हुन् त थारू समुदाय ?

वास्तमा थारुहरु प्राचीन क्षेत्री हुन।उनीहरुको आफ्नै गौरवाली इतिहास छ।तर हिन्दु वर्ण व्‍यवस्थामा आधारित क्षेत्री भने होइनन्। बुद्धको समयका यी क्षेत्रीहरुको सामाजिक स्तर ब्राहमणभन्दा माथि थियो। (रेग्मी: १९७३:२)ले आफ्नो लेख ‘कोशीका थारु समुदाय र तिनको परिवर्तनशील संस्कृति’मा इतिहासविद् बाबुराम आचार्यको भनाईलाई उधृत गर्दै भनेका छन्, ‘थारुहरु राजपुतनाबाट आएका हुन भनेर भन्न सकिँदैन। उनीहरु क्षेत्री हुन्। किनकी प्राचीन समयमा भूमिपति लडाकू र शासकहरुलाई खतिया भनिन्थ्यो। कारण उनीहरुसँग धन सम्पत्ति र शक्ति प्रशस्तै थियो।पाली शब्द ‘खेत’बाट खतिया भएको हो र संस्कृतमा खेतलाई ‘क्षेत्र’ भनिन्छ।

बुद्धको समयदेखि नै थारुहरु तराईका भूमिपति र शासक थिए, त्यसकारण उनीहरु आफूलाई प्राचीन क्षेत्री मान्छन् यो कुनै आश्चर्यको कुरा होइन। ‘विष्ट २००१:१५२)

सन् २००१को राष्ट्रिय जनगणनादेखि मात्र विभिन्‍न जातिको जनसंख्या उल्लेख गरेसँगै थारुको जनसंख्या त्यतिबेला १५ लाख ३२ हजार ८ सय ७९ रहेको छ जून नेपालको कुल जनसंख्याको ६.७ प्रतिशत हुन आउँछ।राणा र पञ्‍चायतकालमा जाति/जातियता जस्ता सामाजिक तत्वहरुलाई वेवास्ता गरिन्थ्यो। कारण नेपाललाई भाषा, धर्म र जातीय संरचनाका आधारमा बहुजातीय होइन की सहजातीय राष्ट्रको रुपमा चित्रण गर्नु थियो। राणा र र पञ्‍चायकालका सरकारहरुले एक भाषा र एक धर्मको नीति अंगीकार गरेको थियो। यही मुख्‍य कारणले गर्दा जातीय जनसंख्या अंकको रुपमा अस्तित्वमा आउन पाएन। यही अनविज्ञतालाई विकृत रुपमाबाट व्याख्या र वर्णन गरियो त्यतिबेला। अझ केन्द्रीयय तथ्याङक विभागले जाजानीबुझी नै सन् १९६१, १९७१ र १९८१को जनगणनामा जाति र जातीयताको प्रश्‍न सोधिने कोलम (महल) हटाएको थियो।

थारु शब्द सताभिरबाट भएको हो। सताभिरको अर्थ थेऱाभदा अर्थात थेरावाद हो जून बुद्धधर्मको अनुयायी भनेर बुझिन्छ। थारु जाति गौतम बुद्धको सन्तति हो भनेर फ्रान्सका विद्वान फुहररले दाबी गरेका छन्। (Antiquities of Buddha Sakyamuni’s Birthplace in the Nepalese Tarai, Fuhrer, १८९७। शाक्य र कोलिएहरु थारुहरुका पूर्वज हुन् र गौतम बुद्ध थारु कुलमा जन्म लियका थिए। भू.पु.माहान्याधिकक्ता रामानन्द सिंहले थारुहरु शाक्य वंशका अवशेष हुन् भनेर पटनामा सन् १९८८मा खोजमूलक प्रतिवेदन पेश गरेका छन्। (The Real story of Tharus, १९८८) इतिहासकार पर्जिटरले बुद्धका कुनै अवशेष बाँकि छन् भने तिनीहरु थारु जातिका मानिसहरु हुन् भनी उलेख गरेका छन्। (Historical Tradition of India) थारुहरु शाक्यवंशी क्षेत्री हो र सिद्धार्थ गौतम बुद्ध थारुका सन्तान हुन् (तेजनारायण पञ्जियार, थारु जातिको इतिहास र उत्पति खोज २०५५) सिदार्थ गौतम बुद्धको जन्म थारु जातिको परिवारमा भएको थियो (सुबोध कुमार सिंह, The Great sons of Tharu: Shakyamuni budhha and the Ashoka the Great )

यस्तै जे सी नेस्फिल्ड लेख्छन्, ‘थार भन्‍नाले जंगलको मान्छे भनेर भुझिन्छ। थारुहरु आफै भन्छन्, उनीहरु जंगलकै मान्छे हुन्, ‘मुलर वाकर १९९३ तल्कालिन अवस्थामा तराइमा घना जंगल थियो। यस्तै थारुहरु मंगोलियन हुन् भनेर कुर्ट डव्लू मेयरले दाबीका साथ आफ्नो पुस्तक ‘ओरिजिन ट्राइब्स अफ हिमालयन कन्ट्रीज’मा भनेका छन् भने त्यतिबेला चितवन राष्टिय निकुञ्‍ज निर्माण गर्दा धेरै थारुहरुले आफ्नो जग्गा जमिन छोड्नु पर्‍यो राजाको हुकुमका कारण रोय जेस्लर (१९९०)।

मलेरिया: थारुहरुको रक्षक, मलेरिया उन्मूलनपछि कमैया

थारुहरु प्राचीनकालदेखि नै तराइमा बस्‍दै आएका प्राचीन समयका शाक्‍य र कोलीयाहरुको वंशज हुन भनेर मानिन्छ। सम्पूर्ण तराइमा थारुहरुको वर्चस्व कायम थियो र आश्चर्यजनक रुपबाट इतिहासको उतारचढावलाई पार गर्दै आजसम‍्म आफ्नो गौरवमय इतिहास र विगतलाई जोगाइरहेका छन् उनको पुस्ताले। किनकी उनीहरुले आफ्नो अस्तित्व जोगाउनुको रहस्‍य उनीहरुको बौद्धमार्गीय प्रकारको रहनसहन एवं उष्ण प्रदेशीय जंगलको डरलाग्दो मलेरिया हो। केही विद्वानहरुले ठीकै भनेका छन् की थारुहरु तराइका आदिवासी मात्र नभइ सभ्यताका अग्रदूत हुन। तर उनीहरुको इतिहास नामेट पारियो समयक्रमसँगै।

अनुसन्धानले के प्रमाणित गरेको छ भने थारुहरुको रगतमा पाइने अ-थालसिमिया जीनले गर्दा उनीहरुमा मलेरियासँग लड्न सक्‍ने अनुवांशिक प्रतिरोधात्मक क्षमताको विकास भएको हो र यसले गर्दा मृत्‍य दर दश गुणाले घट्छ। (अमेरिकन जर्नल अफ ह्‍युमन जेनेटिक्स, १९९१, ४८: ३९०-७)

सर रोबर्ट गरसोनीले आफ्नो पुस्तक ‘सोइङ द विण्ड’मा लेखेका छन्, ‘ सन् १९५०तिर मलेरिया नेपालमा सबैभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य सम्बन्धी समस्या थियो।सन् १९५२ मा USAID प्रोग्रामको पूर्ववर्ती यूएस अप्रेशन मिसनले नेपाल सरकारको मद्दतमा तराइमा मलेरिया उन्मूलन गर्ने कार्य गर्‍यो विश्व स्वास्थ्य संघको नेतृत्वमा। पहिलो पटक चितवनमा डटीटी छरियो थारु आवादी क्षेत्रमा।’

उनले आफ्नो उक्त पुस्तकमा लेखेका छन्, ‘चितवन पहिला थारुहरुको असली गाउँ हो। त्यहाँ आदिवासी थारु समतल ठाँउ साथै जंगल छेउछाउमा बस्थे, फलफूल टिपेर खान्थे। घना जंगल भएकाले औलोको प्रकोप थियो। औलो र मलेरिया थारुहरुको वास्तविक साथी हो।तत्कालीन सरकारले डीटीटी छरेपछि थारुको सामाजिक जीवन उथलपुथल भयो। कोही थारु मलेरिया पचाउदै बसे। कोही सुरक्षित ठाउँ खोज्दै अन्य ठाउँ जिल्लातिर गए।आफ्नो उर्वरा जमिन छोडेर गएपछि उनीहरुको आर्थिक अवस्था खस्कदै गयो। दिनानुदिन उनीहरु गरिबमा परिणत भए। सन् १९६०को मध्‍यतिर पहाडका मानिसहरु तराइमा तीव्र रुपमा स्थानान्तरण हुन थाले। सन् १९६३ देखि १९७८सम्‍म २० लाख मानिस तराइमा स्थानान्तरण भइसकेका थिए। सन् १९७१सम्‍म तराइको ४१ प्रतिशत भूमि खेतीपातीको लागि प्रयोगमा आइसकेको थियो भने ९ प्रतिशतमा पहाडमा र २ प्रतिशत हिमाली क्षेत्रमा खेतीपातिका लागि प्रयोग भएको देखिन्छ।’

यता, पूर्व महान्‍याधिवक्ता रमानन्दप्रसाद सिहं थारुले (१९९४/९५)ले उल्लेख गरेका छन् की आदिवासी थारुहरु जो आफूलाई बुद्ध भगवानका सन्तान भनी दावा गर्छन्, मलेरिया योजनाले अति नै कष्टदायक ढंगले प्रभावित भए। तराईका जुन जिल्लामा १०० प्रतिशत थारुहरु थिए, त्‍यहा घटेर २५ प्रतिशतमा झरे।नयाँ आप्रवासीहरु अब मलेरियाको उन्मूलनपछि पहाडबाट पहाडी र भारतबाट मधेशीहरु आएर बसोबास गर्न थाले कमिलाको ताँती झै। सोझो थारुहरुलाई उनीहरुको छलछाम र जालझेलमा पारिन थाल्‍यो जिमनको जगमा टेकेर। फलस्वररुप थारुहरु आफ्नै जमिनमा आफै भूमिहीन हुन पुगे र कमैयाको स्थितिबाट गुज्रिन पुगे। जमिन भएका थारुहरु त्यतिबेला सरकारी अभिलेखमा दर्ता नगराउनु गल्ति थियो।

यस्तै महेशचन्द्र रेग्मी (१९८८:२१)ले (गरडलस्टोन, जो काठमाडौंस्थित बेलायती रेजिडेन्ट थिए)लाई उल्लेख गरेका छन् की उनले आफ्नो सरकारलाई १८७६को रिपोर्ट प्रस्तुत गर्दा लेखेका थिए, ‘तराइको निर्दयी पर्यावरण र गोर्खालीहरुमाझ मलेरियाले त्रास अति भयानक थियो की जंग बहादुरले व्‍यक्त गरेका थिए की गोर्खालीहरु जो अधिकांश सरकारी कर्मचारी थिए, उनीहरु मलेरियासामू आत्मसमर्पण गर्नुभन्दा आफ्नो टाउको काट्न तयार हुन्थे। गोरखाली मात्र होइन की नेपालका सबै पहाडीहरु तराइको चरम गर्मी र मलेरिया झेल्न सकिरहेका छैनन्।’

डक्सन फोर्बसले चितवनको घना जंगको बयान गर्दै आफ्नो पुस्तक ‘ द हार्ट अफ नेपाल’मा वर्णन गर्ने क्रममा भनेका छन्, ‘की त्यो जंगलमा घुम्‍ने बाघ गैंडा र हात्तीभन्दा पनि खतरनाक लामखुट्टे हुन्छ जसले डरलाग्दो मलेरिया बोकेको हुन्छ र बाहिरियाहरु जो बर्षात वा शरद ऋतुमा दूर पार गर्न कोशिस गरिरहेका हुन्छ, उसको लागि सम्भावित मृत्‍यु हो। तर नि:सन्देह वास्तविकता के हो भने लामखुट्टेले त्यो प्रदेश केवल एक जातिको लागि मात्र आरक्षित क्षेत्र थियो र त्यो हो थारु जसले यो रोगबाट उन्मुक्ति पाउने क्षमताको विकास गरेको छ।’

ब्रटिश इन्डिया सरकारले सन् १९०८मा प्रकाशन गरेको अफगान नेपाल सम्बन्धि गजेटियर अनुसार तराइ क्षेत्रमा अक्सर घना वर्षा हुन्छ। मे र डिसेम्बरको बीचमा वातावरण अति नै अस्वस्थकर हुन्छ। यस समस्त समतल मैदानमा उक गम्भीर प्रकारको मलेरिया व्‍याप्त छ जसलाई जसलाई त्यहाँका मूल निवासीले ‘औल’ भन्छन् र थारु बाहेक अरुको लागि अति नै खतरनाक हुन्छ। उनीहरु तराइका आदिवासी हुन र उनीहरु रोगबाट उन्मुक्ति पाउने क्षमता राख्दछ। यद्यपि अन्‍य ठाउँमा स्थानान्तरण गरेको खण्डमा मलेरियाबाट ग्रसित हुने सम्भावना हुन्छ (पृष्ठ ९६)। तराइ एवं चुरे श्रृंखला क्षेत्रमा बसोबास गर्ने मानिसहरुमध्‍यै सबैभन्दा रोचक थारुहरु हुन्छन्। पृष्ठ११८मा उल्लेख गरिएको छ की व्रिटीश इन्डियाको निकटवर्ती जंगलमा बसोबास गर्ने थारुहरु पश्‍चिमी सभ्याताबाट प्रभावित छन्। उनीहरुको विशिष्टतामा ह्रास आएको छ। त्यही पनि नेपालमा घुमिरहेको आत्मा जीवितै छ र अतरण खेतीको परिपाटी जारी नै छ। थारुहरुसँगको आत्मीय वार्तालापले फरेष्ट अफिसर लाई जंगलका आदि मानिस जस्तै उत्तर पूर्वी बर्माको प्राचीन जाति काचीन जातिको स्मरण गराउनेछ। उनीहरुको खानामा पनि समानता छ। माछा, भात, भूत प्रेतलाई कुखुरा वा अन्‍य जनावर बली चढाउने गर्दछन्। उनीहरुबीचको अर्को समानता चेहरा मुहरा पनि हो जुन स्पष्ट रुपमा मंगोल मुखाकृतिको छ र हात र अझ शरीरमा पनि पहिरन झै सुन्दरताका लागि खोप्‍ने प्राकृति खोदहा (tattooing) अर्थात ‘खोदहा/गोदना’ प्रथा दुवै जातिमा प्रचलित छ। थारुहरु शिकास खेल्‍नमा अभ्यस्त हुन्छन् अनि कृषकको रुषमा बहुतै सामर्थ्य राख्दछ, खास गरेर सिँचाइमा (पृष्ठ११९)

यस्तै (मेयर: २००:१९)ले उल्लेख गर्छन् की नेपालको मानिसहरुमध्‍ये थारुहरु त्यस्ता जातिमध्‍येका हुन जसले शताब्दियौ पश्चाता मलेरियासँग जुध्न पर्याप्त प्रतिरोधात्मक क्षमता प्राप्त गर्‍यो जसले गर्दा तराइको विशेष रुपले संक्रमक खालको रोगबाट बच्‍न सक्षम बनायो। बीसौ ताब्दीको मध्‍यतिर मलेरिया उन्मूलन परियोजना नआउँदासम्‍म पहाडका मानिसहरु तराइबाट टाढै बस्थे किनकी उनीहरु दलदलमा आउनै डराउँथे। त्यो भन्दा नि भयानक तराइको दलदल र पानीमा जमेका स्थलहरुमा लामखुट्टेले ग्रसित थियो। निश्‍चय नै यदि पहाडेहरुलाई बर्षभरी नै तराइमा बस्न बाध्‍य पारेको भए उनीहरुको लागि त्यतिबेलाको समय निश्चितरुपबाट मृत्‍युदण्ड सावित हुने थियो। पहाडेहरु तराइबाट परै बस्न चाहन्थे जबकी त्‍यसको ठीक विपरीत साहासी तगडा थारुहरु घना जंगललाई फडानी गरेर आवादी बनाए। कृषियोग्‍य जमिन बनाए र त्यहाँको जमिनको मालिक बने।तर उनीहरुको गौरवमय सभ्यतालाई नेपालको इतिहासबाट हटाइयो तत्कालीन सरकारहरुले समयको दूष्कच्रकमा पारेर।’

यस्तै कनकमणि दिक्षितले ‘नेपालका राजा र तराइको थारु’ भन्‍ने पुस्तक पढेपछि (जसमा नेपालका राजाहरुले तराइका थारु प्रमुखहरुलाई अर्थात साना राजाहरुलाई प्रान गरेको पचासवटा लालमोहरहरु संग्रहित रहेका छन्) टिप्पणी गर्दै भनेका छन्, ‘ यी अमूल्‍य दस्तावे, अनुलिपी अर्थात लालमोहरहरुले तराइको इतिहासलाई मानवीकरण गरेको छ। यसले नेपालका पहाडका राजाहरु र तराइमा रहेका प्रजाहरु अर्थात थारुहरुबीच रहेको रहस्यमय सम्बन्धको बारे प्रकाश पारेको छ। ती लालमोहरहरुले तथ्‍यपूर्ण इतिहासलाई उजागर गर्दछ र संलग्न टिप्णीहरुले आधुनिक युगमा येथेष्ट मात्रामा सह्राना नगरिएका मानिसहरु र क्षेत्रहरुलाई बुझ्‍न दृष्टिकोण बनाउन सहयोग पुर्‍याउनेछ। शाही छाप लागेका मौलिक दस्तावेजहरु संकलित यस पुस्तकले के पुष्टि गर्दछ भने थारुहरुले ऐतिहासिक कालदेखि नै तराइलाई आवाद गुल्जार गर्दै आएका थिए। उनीहरु शिकारी र संग्रहकर्ताको रुपमा होइन की सुविज्ञ जंगलको संरक्षक र कृषिका लागि कुशल कृषक कामयाबी हासिल गरे जहाँ अन्‍य जाति असफल भए।’

महेशचन्द्र रेग्मी (१९८२:१७७) का अनुसार थारुहरुको आर्जित भूमि तराइ राणा र शाह शासकहरुको नजरमा एउटा उपनिवेश थियो र त्यसकारण उनीहरुले ठुल्ठूला चकला जग्गा जमिन र कहिलेकाही विशाल क्षेत्र नै आफ्नो लागि र आफ्नो परिवार र भाइभारदारलाई निरन्तर रुपबाट वीरता प्रदान गर्दै गए। उदारहणको लागि प्रथम प्रधानमन्त्री भीमसेन थापा (सन् १८०७-१८३७)ले बारा र पर्सामा थुप्रै मौजाहरु आफ्नो नाममा राखे। यस्तै जंगबहादुर राणा, प्रथम राणा प्रधानमन्त्री र उनका परिवारले सुदूरपश्चिम तराइका (बाँके, बर्दिया, कैलाली र कन्चनपुर)धेरै जग्गामा कब्जा जमाए। सन् सन् १८६२ र १८७४मा वीरताको रुपमा आफ्नो नाममा थुप्रै जग्गाहरु हात पारे जून थारुहरुद्वारा आर्जित आवादी क्षेत्रको जमिन थियो।(श्रेष्ठ, १९९०:१७५ पृष्ठ)

शासकवर्ग राणा र शाह दुवैमा के विश्‍वास थियो भने तराइको दीर्घकालीन विकास उनीहरुको हितमा थिएन।उनीहरुलाई डर थियो की त्‍यस्ता विकासले बृटिश उपनिवेशवादको पहिरोलाई आकर्षण गर्ने मात्र होइन की दक्षिणबाट क्रान्तिकारी विचारको जलधार र जलद्वार खोलिनेछ र उनीहरुको शासनलाई कमजोर एवं खोक्रो बनाइदिनेछ। (रेग्मी, 1988:२६ पृष्ठ)। उनले यो पनि उल्लेख गरेका छन् की राजनीतिक कुलीन वर्गको स्वार्थ उत्पादक र व्‍यापारीहरुको भन्दा अधिक भएकाले राजनीतिक एकीकरणको साथसाथै आर्थिक तवरले राष्ट्रिय एकीकरण हुन सक्‍दैन।