क्वालालम्पुर := यही माघ ५ गते अर्थात सन् २०२५ जनवरी १८ तारिख शनिबारदेखि मलेसियामा सुरु हुने आइसिसी यू-१९ महिला टी-२० विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ ।
राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्वीन टावर “केयलसिसि”मा मंगलबार विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्तरूपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन् ।
विश्वकपमा भाग लिन सबै टोली मलेसिया पुगिसकेका छन् । नेपालले पहिलोपटक यू-१९ महिला टी-२० विश्वकप खेल्न लागेको हो । पूजा महतोको कप्तानीमा रहेको नेपाली महिला टोलीले विश्वकपअघि वेष्ट इण्डिजसँग पहिलो अभ्यास खेल खेलिसकेको छ ।
सोमबार भएको खेलमा नेपाल वेष्ट इण्डिजसँग नौ रनले पराजित भएको हो । नेपालले दोस्रो अभ्यास खेल आज (बुधबार) अमेरिकासँग खेल्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।
यस समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छ । नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते “जनवरी १८ तारिख” बंगलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यस्तै, दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलंका र वेष्ट इण्डिज छन् । त्यस्तै, समूह ‘बी’ मा इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन् ।