स्वर्णलक्ष्मीको ‘सफ्टवेयर’मा ऋण लिएको भेटिएको अभियोगबारे रविको बयान
काठमाडौं := स्वर्णलक्ष्मी सहकारीको हिसाबकिताब रहेको जिसिएस बैंकिङ सफ्टवेयर सिस्टममा रास्वपा सभापति रवि लामिछानेको खाता रहेको भन्ने अभियोजन पक्षको दाबीलाई खण्डन गर्ने विभिन्न आधार भेटिएका छन् । सिस्टममा जिबी राई र रवि लामिछानेको नाम उल्लेख गरिएको सवारीसाधन किन्नका लागि खोलिएको ऋणी खाता देखिएको थियो ।
संयुक्त खातामा ‘फोर ह्विलर लोन र इको सेभेन सिटर भ्यान’ रिमाक्र्स राखेर ४६ लाख ९८ हजार र ४६ लाख ४८ हजार ऋण प्रवाह भएको पनि देखाइएको छ । तर, सहकारीको सदस्य नै नरहेका लामिछानेले कसरी ऋणी हुने हैसियत प्राप्त गरे भन्ने मात्रै होइन, उनको नागरिकताको प्रमाणपत्र र हस्ताक्षर पनि नभएकाले खाता नै नक्कली भएको प्रश्न उठेको छ ।
यो आरोपमा लामिछानेले इन्कारी बयान दिएका छन्, ‘मेरो उक्त स्वर्णलक्ष्मी सहकारी संस्थामा एकल वा संयुक्त कुनै पनि खाता छैन, खाता खोल्न एकल वा संयुक्त रूपमा कहिल्यै निवेदन दिएको पनि छैन । मैले निवेदन दिएको, हस्ताक्षर गरेको, औँठाछाप गरेको वा कुनै किसिमको फाराम भरेकोसमेत छैन । म उक्त स्वर्णलक्ष्मी सहकारीको बचतकर्ता, सदस्य, ऋणी, कर्मचारीलगायत कुनै पनि जिम्मेवारीमा रहेको व्यक्ति होइन ।’
दुईवटा सवारीसाधन खरिदका लागि स्वर्णलक्ष्मीमा खोलिएको भनिएको संयुक्त ऋण खातामा ऋण प्रवाह भएपछि जिबी वा रवि दुईमध्ये एकजनाको हस्ताक्षर गरी सहकारीबाट प्रदान गरिने चेकमार्फत पेमेन्ट हुनुपथ्र्यो । तर, गाडी बिक्री गर्ने नारायणी अटो बिजनेस प्रालिलाई स्वर्णलक्ष्मीको नेपाल इन्भेस्टमेन्ट बैंकको चेकबाट १४ लाख नौ हजार चार सय र ३२ लाख ८८ हजार ६ सय रुपैयाँ भुक्तानी भएको मिसिलमा संलग्न चेकको प्रतिलिपिबाट देखिन्छ ।
लामिछानेको इन्कारी बयानलाई खण्डित गर्न राख्नुपर्ने प्रमाण पनि अभियोगपत्रमा राख्न सकेको देखिँदैन । उनले बयानमा थप भनेका छन्, ‘उसकै सहकारी, उसैको सफ्टवेयर, उसैका कर्मचारी, उसैको सिस्टम भएपछि सहकारी सञ्चालकहरूले जसको नाम राख्न पनि सक्ने होला । कुनै पनि सहकारीमा खाता खोल्न वा सदस्य हुन निश्चित विधि अनिवार्य हुन्छ भन्ने मेरो बुझाइ हो ।
तर, विनाहस्ताक्षर, विनाऔँठाछाप, विनाकेवाइसी फारम, विनाउपस्थिति, विनाधितो खोलिएको ऋण खाता प्रथम दृष्टिमै फर्जी हुन आउँछ । विभिन्न अनुसन्धान र प्रतिवेदनहरूले उल्लिखित सहकारीलगायत गितेन्द्रबाबु राई संलग्न रहेको सहकारी संस्थाहरूमा किर्ते गरी विधि प्रक्रिया नपुर्यार्ई सयौँ मानिसको नाममा नक्कली खाता खोली उनीहरूलाई नक्कली ऋणी बनाइएको भनी सार्वजनिक भएको सुनेको हुँ । तसर्थ, मेरा सन्दर्भमा पनि फर्जी खाता खोलिएको हो भन्ने कुरामा कुनै द्विविधा छैन । सहकारीसँग मेरो कुनै पनि किसिमको साइनो तथा कारोबार थिएन, छैन ।’
स्वर्णलक्ष्मीबाट ऋण लिएर किनेको भनिएका दुईवटै गाडीको ऋण चुक्ता भइसकेको अभियोजनमा देखाइएको छ । आफैँ किस्ता तिर्न चेकमा हस्ताक्षर गर्ने अनि थाहा छैन भन्ने प्रश्न लामिछानेमाथि उठाइएको छ । तर, लामिछानेले चेकमा हस्ताक्षर आफ्नो भए पनि हस्तलेखन आफ्नो नभएको दाबी गरेका छन् । ‘कम्पनीमा विभिन्न कर्मचारीको आ–आफ्नै भूमिका हुन्छ र आर्थिक कामकारबाहीका लागि लेखा अधिकारी नियुक्त हुन्छ ।
लेखाले अध्यक्षको आदेशमा सबै काम गर्छ । सोहीअनुसार उसले आफैँले चेक तयार गरी लामिछानेको हस्ताक्षर गराएको हुन सक्ने देखिन्छ । वा विश्वासमा हस्ताक्षर गरी छाडिएको चेक आफैँले आवश्यकताअनुसार भरिदिएको हुन सक्छ,’ उनको बयान छ । चेकमा लेखिएको हस्तलेखन कसको छ भन्ने फरेन्सिक जाँच गरिए प्रस्ट हुन्छ ।
समाचार स्रोतले :नंया पत्रीका दैनिक बाट साभार गरिएको हो।



















