धनुषा := राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा आज जनकपुरधाममा ‘उमा सिंह राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।
शनिबार धनुषाका शाखाका अध्यक्ष पुरन साहको अध्यक्षतामा भएको एक समारोहका बीच नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्वअध्यक्ष उमेश साह पनि सम्मानित हुनुभएको छ ।अध्यक्ष शर्माको प्रमुख आतिथ्यमा महावीर युवा कमिटीद्वारा रु ११ हजार नगदसहित पत्रकार साहलाई सम्मान गरिएको हो ।
त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष झाले सहिद पत्रकार उमा सिंह हत्याको पुनः छानबिन हुनुपर्नेमा जोड दिनुभयो। साथै अध्यक्ष झाले पत्रकारको हकहित एवं सुरक्षामा राज्यका निकायहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।
महासङ्घका अध्यक्ष शर्माले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएको लामो समय भइसक्दासमेत पत्रकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पेसागत सुरक्षाका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था कायमै रहनु दुःखद भएको बताउनुभयो ।




















