हेटौंडा := थाहा फिल्म फेष्टिभलको दोस्रो संस्करण आज (आइतबार) देखि मकवानपुरको थाहा नगरको बज्रबाराहीमा आरम्भ हुँदैछ । माघ १ गतेसम्म चल्ने फेस्टिभलमा सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसहित २० वटा फिल्म प्रदर्शन गरिने जनाइएको छ ।
महोत्सवमा सहभागिताका लागि पेस भएका ४६ फिल्ममध्येबाट २० वटा छानिएको आयोजक थाहा कला केन्द्रका सानुबाबु मोक्तानले जानकारी दिनुभयो ।फेष्टिभलमा ‘पखेटा, टुल्की, बाटो, लाखे, सतीदेवी, मोदीवेनी’लगायत फिचर फिल्म प्रदर्शन हुनेछन् । सर्ट फिल्मतर्फ ‘बेली, अन्तर्वार्ता, द रोप अफ होप, निर्देश, दुई सय रुपैयाँ, खिल’लगायत चलचित्र र डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा, गल्र्स रिराइटिङ डेस्टिनी’ प्रदर्शन हुने मोक्तानले बताउनुभयो ।
थाहा नगरलाई नेपाली सिने क्षेत्रको हब बनाउने उद्देश्यसहित गतवर्ष ‘थाहा फिल्म फेष्टिभल’ सुरु गरिएको थियो । फेष्टिभलको माध्यमबाट थाहालाई चलचित्र छायांकनको हबको रूपमा विकास गरिनुका साथै थाहालाई फिल्म सिटीको रूपमा विकास गरिने अवधारणासहित कार्यक्रमको आयोजनालाई निरन्तरता दिइएको मोक्तानको भनाइ छ ।
तीन दिनसम्म चल्ने फेष्टिभलमा देशका चर्चित चलचित्रकर्मी, फिल्म समीक्षकको सहभागिता हुने आयोजकले जनाएको छ । फेष्टिभलका संयोजक प्रमोदकृष्ण जोशीले यसको माध्यमले थाहा नगरमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।




















