काठमाडौं := प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिनुभएकी कोइरालालाई बुधबार धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार सात सय रुपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित हुनुभएको थियो ।
कोइराला बुधबार बिहान अदालत खुल्ने समयमै हाजिर हुनुभएको थियो । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको थियो । अदालतले उहाँलाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
सो प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो भने रंगेली नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष सन्तलाल खवासलाई पाँच लाख रुपैयाँ धरौटीमा छाडेको थियो । सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २३ जना अझै फरार छन् ।




















