ललितपुर := ललितपुरको मितेरी सहकारी ठगीका आरोपित नेपाली कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साढे चार घण्टा सोधपुछ गरेको छ ।
पूर्वमन्त्री गुरुङले सहकारीबाट लिएको ऋण र भ्रष्टाचारी ठहर भएका व्यापारी मीनबहादुर गुरुङसँग भएको ‘शंकास्पद कारोबार’का सम्बन्धमा सीआईबीले सोधपुछ गरेको हो । सत्तारुढ कांग्रेसका सांसदसमेत रहनुभएका पूर्वमन्त्री गुरुङसँग यसअघि कात्तिक अन्तिम साता पनि सीआईबीले बयानी कागज गरेको थियो ।
सहकारी ठगीकै अनुसन्धानका क्रममा नेता गुरुङ र भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबीच २०८१ वैशाखमा संदिग्ध आर्थिक कारोबार भएको खुलेको थियो ।
त्यसपछि नेता गुरुङमाथि शंकास्पद लेनदेन र सहकारी ठगी दुवैमा सीआईबीले अनुसन्धान जारी राखेको छ । मितेरी सहकारीमा केही वर्षअघिसम्म नेता गुरुङकी श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन् । महाप्रबन्धक रहेकै बखत सहकारीको बचत रकम अपचलन गरी उनी भागेकी थिइन् ।
ज्योति र अर्का आरोपित ज्योतिबहादुर भण्डारी रकम अपचलन गरेर फरार भएपछि दुवैजनालाई प्रहरीले ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’मा समेटेर फरार सूचीमा राखेको छ । उनीहरू फरार भएपछि मात्र उक्त सहकारीको बचत ठगी प्रकरण बाहिरिएको थियो ।
नेता गुरुङले सहकारीबाट लिएको ऋण घर बेचेर तिरेको र पछि व्यापारी गुरुङबाट पनि ऋण तिर्नकै लागि करिब एक करोड रुपैयाँ लिएको विषय बाहिरिएपछि सीआईबी ले अनुसन्धान झन् गहिरो बनाउँदै लगेको छ । सहकारीलाई तिर्न बाँकी ९१ लाख २६ हजार १४ रुपैयाँ २०८१ वैशाखमा एकैचोटि भुक्तानी गरेको दाबी नेता गरुङको छ ।




















