काठमाडौं := काठमाडौंको थापाथलीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुवैजना धरौटीमा रिहा भएका छन् । अभियोगपत्रसाथ पेस गरिएका सहकारीको सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरीवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग धरौटी माग गरेको थियो । सुनिता चार लाख र कमल तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले कात्तिक २० गते पक्राउ गरेको थियो । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३७ जना प्रतिवादीको हकमा भने थुनछेक आदेश हुन बाँकी छ ।
जिल्ला अदालत कास्कीमा थुनछेक आदेश भइसकेपछि लामिछानेसहितका केही प्रतिवादीहरूलाई उपस्थित गराउने प्रहरीको तयारी छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा दुई अर्ब ४१ करोडभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ । लामिछानेलाई पाँच करोड आठ लाख रुपैयाँ बिगो तोकिएको छ ।




















