सूर्यदर्शन सहकारी ठगी प्रकरण: रविसहित सबैजना प्रतिवादी तर्फको बहस सकियो।

कास्की := कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीतर्फका वकिलहरूको बहस सकिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरूको बहस सकिएको हो ।

बुधबार प्रतिवादीकातर्फबाट रामबहादुर खनाल, विष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गर्नुभएको थियो । प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको र आज (बिहीबार) सम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस सकिने खनालले जानकारी दिनुभयो । जवाफी बहस सकिएपछि आदेश आउने जानकारी दिँदै स्रेस्तेदार खनालले भन्नुभयो, ‘सम्भवतः बिहीबार नभए शुक्रबारसम्म आदेश आउनसक्ने देखिन्छ ।’

सरकारी वकिल र पीडित जाहेरवालाले लामिछाने लगायतलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन् । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरूको थुनछेक बहस सकिन लाग्दा जिल्ला अदालत कास्की आसपास सुरक्षा व्यवस्था कडा गरिएको छ । कोमाकाने पार्कदेखि राष्ट्र बैंक चोकसम्म सवारीसाधन प्रवेश रोकिएको छ । पैदल यात्रुलाई पनि सो क्षेत्रमा निषेध गरिएको छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सूर्यदर्शन सहकारी प्रकरणमा पुस ५ गते थप र ७ गते पूरक अभियोजन गर्दा गर्दै एक अर्ब ५१ करोड रुपैयाँ माग दाबी गरिएको छ ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

सभापति लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै, लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।