काठमाडौं := नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत राख्नेहरूको राजनीतिक ‘अवसान’को खतरा बढेको छ । लामो समयदेखि ओलीसँग फरक मत राख्दै आउनुभएका नेता डा.भीम रावल एमालेबाट निष्कासित हुनुभएको छ ।
एमालेको दशौँ महाधिवेशनमा अध्यक्षका लागि ओलीसँग प्रतिस्पर्धा गर्नुभएका नेता रावललाई लामो समयदेखि भूमिकाविहीन बनाइएको थियो । बुधबार बसेको एमाले सचिवालय बैठकले उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्यो । यसबाट एमालेमा पाँच दशकदेखि सक्रिय रावललाई नयाँ राजनीतिक कदमका लागि बाध्य बन्नुपरेको छ ।
पाँच वर्षअघि संसद् विघटनको सन्दर्भमा तत्कालीन नेकपामा चुलिएको विवादका दौरान एमाले नै विभाजित भए पनि रावल एमालेमै बस्नुभएको थियो । अधिकांशले एमाले विभाजनपछि रावल माधव नेपालतिर लाग्ने अनुमान गरे पनि उहाँले एमालेभित्रै लडाइँ लड्ने उद्घोष गर्नुभएको थियो । अब भने एमालेभित्रै रहेर राजनीतिक संघर्ष गर्ने सम्भावना पनि समाप्त भएको छ ।
त्यस संगै राजनीतिक वृत्तमा धेरैले रावललाई नेकपा एकीकृत समाजवादीमा जानसक्ने नेताका रूपमा चित्रित गरेका छन् । यसअघि घनश्याम भुसाल पनि एमाले छाडेर एसमा गएका कारण यस्तो चर्चा भएको हो । स्वयं रावल भने नयाँ पार्टी स्थापनाको तयारीमा रहेको बताइन्छ ।
एमालेले आफूलाई अन्याय गरेको र ओलीको चरित्रबारे राजनीतिक भण्डाफोर गर्न देशव्यापी यात्रामा निस्कने तयारी रावलले गर्नुभएको छ । लगत्तै नयाँ पार्टीको सम्भावना देखिन्छ । ‘एमालेमा रहने वातावरण नभएपछि समाजवादीमा जानुपर्छ भन्ने छैन । उहाँ देशव्यापी यात्रामा जानुहुन्छ । जनमत बुझ्नुहुन्छ र उपयुक्त निष्कर्षमा पुग्नुहुन्छ’, रावलनिकट एक नेताले जानकारी दिनुभयो ।
ती नेताका अनुसार पुराना राजनीतिक दलप्रति जनताको चासो घटेको बेला परम्परागत दलमा जानुभन्दा नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्ने रावलको सोच छ । ‘पुरानै पार्टी र पुरानै सोचभन्दा माथि उठेर अगाडि बढ्न सुझाव दिएका छौँ । सही प्रयत्न गर्ने हो भने देशभरी नयाँ माहोल बन्नसक्छ’, रावलनिकट नेताको भनाइ छ । उहाँका अनुसार आफ्नो आगामी राजनीतिक यात्राबारे रावलले केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुहुने छ ।




















