युएई := थारू कल्याणकारिणी सभा (थाकस) युएईले सदाको वर्षमा झै यस वर्ष पनि एक कार्यक्रम आयोजना गरि माघी धुमधामले मनाउने भएको छ। जनवरी १२ अर्थात् पुस २८ गते आइतबारका दिन बर दुबईस्थित क्लब एभरेष्ट अष्टोरिया होटेलमा “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” नारासहित थाकस युएईले ११औं वार्षिक भेला तथा तिला सकरा, खिचरा, खिचरी, खिचडी, माघ, माघी नाम दिएर मनाउन लागिएको हो।
सो कार्यक्रममा युएईमै रहेका स्थानीय थारू कलाकार केशवराज महतो लगायत कैयौं कलाकारसंगै नेपालबाट पनि आमन्त्रित थारु समुदायका प्रख्यात दुईजना नेपाली थारु कलाकार राज कुश्मी र अन्जु कुश्मीको बेजोड प्रस्तुत रहने आयोजक संस्थाका महासचिव खेम महतो थारुले बताउनुभयो। महासचिव महतोका अनुसार कार्यक्रम मध्याह्न १२:०० बजेदेखि सुरु हुनेछ् ।
त्यस्तै कार्यक्रममा थारू परिकार र सांस्कृतिक झाकी पनि प्रस्तुत गरिनेछ। थाकस युएईका सभापति भागरथी कुमार भगतले माघी कार्यक्रमका लागि भव्य तयारी भइरहेको बताए। उनले प्रवासमा रहेका थारूहरूलाई एकै ठाउँमा भेला गर्न र थारूहरूको पर्वलाई उत्साहपूर्ण मनाउन कार्यक्रम आयोजना गरिएको बताए। उनले युएईमा रहेका थारूसहित सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।