वैदेशिक रोजगारीमा अस्ट्रेलिया र दुबई पठाइदिने भन्दै ठगी गर्ने दुई जना प्रहरीद्वारा पक्राउ।

काठमाडौं := वैदेशिक रोजगारीमा अस्ट्रेलिया र दुबई पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–१० कमलविनायक का ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँका ३७ वर्षीय बुद्धिबहादुर बस्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

मुस्याख्वाले अस्ट्रेलिया पठाउने भन्दै २ लाख ठगी गरेको आरोपमा बागबजारबाट र बस्यालले दुबई पठाउने भन्दै १ लाख ९० हजार ठगी गरेको आरोपमा सामाखुशीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ।