काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सिरक ओढेर सुतिरहेको तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको छ ।
बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारवाही गर्ने उल्लेख गरेको छ । प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ ।
उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएपनि डा.भुसालले सामाजिक सञ्जालमार्फत त्यस्को वास्तविकताबारे जानकारी पनि गराइसकेका छन्। सञ्जालमार्फत माफीसमेत माग्नुभएको छ ।
डा.भुसाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकै समर्थक पनि हुन। उनले सो फोटो आफूले लामिछानेलाई भेट्न जानेक्रममा गत शनिबार कास्की प्रहरीको सीसीटीभीको मोनिटरबाट लिएको बताएका छन्।
डा.भुसालले अनुसन्धान तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साईबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गरेको कास्की प्रहरीको ठहर छ।





















