पोखरामा पुस १० देखि १२ गतेसम्म थाई–बक्सिङ प्रतियोगिता हुने।

पोखरा := शक-यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा यही पुस १० देखि १२ गतेसम्म थाई–बक्सिङ प्रतियोगिता हुने भएको छ । व्यावसायिक खेलकुदमा विश्वकै आकर्षकमध्येको एक ‘कन्टेन्डर सिरिज-२’ थाई-बक्सिङ पोखरामा गर्न लागिएको हो ।

खेलकुदमार्फत् व्यावसायिक खेलकुदको विकाससँगै खेल पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिता लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुने तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी गरी पाँचवटा प्रदेशका महिला र पुरुष गरी ८४ जना ‘फाइटर’हरूको सहभागिता रहने छ । प्रतियोगितामा जुनियर–सिनियर (एमेच्योर-प्रोफेसनल)तर्फ कुल ४२ फाइट तय गरिएको छ ।

प्रतियोगिताको पुरुष ‘प्रोफेसनल’तर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार र उपविजेताले नगद २० हजार तथा महिलातर्फको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्ने जनाइएको छ ।

त्यसैगरी अन्य फाइटमा महिला र पुरुषतर्फ ८-८ विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउने छन् । पुरुषतर्फ कोमेन इभेन्टका विजेताले नगद २५ र उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुवाथाई क्लबले जनाएको छ ।

पोखराभन्दा बाहिरबाट आउने खेलाडीलाई विशेष आकर्षक उपहार प्रदानसँगै आवासको सुविधा उपलब्ध गराइने र तीनजना उदीयमान खेलाडीलाई नगदसहित सम्मान गरिने जनाइएको छ । नेपाल राष्ट्रिय मुवाथाई संघ र गण्डकी प्रदेश मुवाथाई संघको स्वीकृति एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन रेमनदास श्रेष्ठ र यकिन गुरुङले गर्ने जनाइएको छ ।