काठमाडौं := नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने छ ।
यस खेललाई हाइ भोल्टेज भिडन्तका रूपमा पनि लिन सकिन्छ । शीर्ष दुईमा रहेर लिग सकाएकाले दुवै टोलीलाई हाइली क्यापेबल टिमका रूपमा लिन सकिन्छ। सुदूरको सबै पक्ष सन्तुलित देखिँदा सुरूवाती चार खेलपछि लय गुमाएको भएपनि जनकपुरको टिम बलियो नै देखिएको छ ।
जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो। सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ। आज जनकपुरका लागि कप्तान अनिल साहले एनपीएलका बाँकी खेल गुमाउने भएका छन्। जारी प्रतियोगितामा जनकपुरलाई क्वालिफायरमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका अनिलको हातमा चोट लागेको छ।
अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । नेपाली टिमका ओपनर समेत रहेका अनिलले लिगको पछिल्लो खेल भने खेलेका थिए। उनी सो खेलमा आठ रनमै आउट भएका थिए।। त्यो खेलमा आउट हुँदा उनको हातमा चोट लागेको हो। अब उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ।
यता एलिमिनेटरमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ। विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धाको अवसर पाउनेछ।
क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबिच फाइनलमा पुग्न बिहीबार प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिबार हुनेछ। उद्घाटन देखिनै हजारौँ नेपाली क्रिकेट दर्शकको साथ पाएको एनपिएलको प्लेअफ चरणका खेलमा दर्शकको चाप झनै बढ्ने देखिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो। विभिन्न देशका ४० भन्दाबढी खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ।
यस्तै उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ। एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार पाउनेछ।
खेल : सुदूरपश्चिम रोयल्स भर्सेस जनकपुर बोल्ट्स – क्वालिफायर १
मिति र समय : ३ पुस, दिउँसो ०१:०० बजे
स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
सुदूरपश्चिम रोयल्स सम्भावित ११ : विनोद भण्डारी, सेफ अली जैब, ब्रान्डन माकमुलेन, इशान पाण्डे, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, स्कट कुग्लेइन, नरेन साउद, नरेश बुढाएर, अविनाश बोहरा,
जनकपुर बोल्ट्स सम्भावित ११ : मयन यादव/आकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था, हर्श थाकर, जिमी नीशम, मोहमद मोहसिन, शुभ कंसाकार, शेर मल्ल, अरनिको यादव, किशोर महतो, ललित राजवंशी




















