चलचित्र ‘सोल्टिनी’का लागि कलाकारहरूको लाइनअप पूरा, कुन-कुन कलाकारले अभिनय गर्ने भए त ?

काठमाडौं := अर्जुन सुवेदीको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘सोल्टिनी’का लागि कलाकारहरूको लाइनअप पूरा भएको छ । चलचित्रमा अभिनेताहरू प्रकाश सपुत र विल्सनविक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बुको प्रमुख अभिनय रहनेछ भने रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडालगायत अनुभवी कलाकारको अभिनयले चलचित्रलाई थप बलियो बनाउनेछ ।

साथै, यस चलचित्रमा अडिशनमार्फत छनौट हुनुभएकी सब्बु गुरुङले पनि प्रमुख भूमिकामा देखिनुहुनेछ । प्रकाश सपुतले ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने चलचित्रको घोषणामै बताइएको थियो । भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायांकन हुने यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने निर्माणपक्षले जनाएको छ ।

साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहने बताइएको छ । चलचित्रको संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिनुभएको छ भने छायांकन सुशन प्रजापतिले गर्नुहुनेछ। प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना विष्ट र संसार चौलागाईं हुनुहुन्छ ।

ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रालिले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ । यही पुस १५ गतेदेखि छायांकनमा जाने यो चलचित्रले २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनबाट सिनेमाघरमा आउने मिति तय गरेको छ ।