काठमाडौं := सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दान गरेको जग्गा र त्यसमा निर्माण हुने भवनविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
सोमबार भएको सुनुवाइमा रिट खारेज भएपछि उक्त जग्गामा पार्टी कार्यालय बनाउन एमालेलाई बाटो खुला भएको छ। अदालतमा मुद्दा विचाराधीन रहेका व्यापारी गुरुङ्गबाट जग्गा दान लिनु घुस सरह हुने भन्दै एमाले भित्र आलोचना भएको थियो। आलोचना गर्ने एमाले नेताहरूलाई पार्टीले स्पष्टिकरण नै सोधेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार एमालेलाई गुरुङको जग्गा र भवन दानविरुद्धको रिट खारेज गरेको हो ।
गत मंसिर २८ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासमा सो मुद्दा सुनुवाइ भए पनि उक्त सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। रिट खारेज भएसँगै नियमित प्रक्रियामा जान अवरोध नभएको अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए।
कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एमालेलाई केन्द्रीय कार्यालय निर्माण गरेर दिनका लागि व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा दिएका छन् ।
गत असोज २५ मा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका दम्पतीले संयुक्त रूपमा उक्त भवन निर्माणको शिलान्यास गरेका थिए ।




















